कुमाल समुदायको परम्परागत पेशा लोप हुने अवस्थामा

Author Logo..
अनलाइन राप्ती २०७७ चैत्र १९ गते बिहिवार

दाङ :  दाङको गढवा बजार नजिक कुमाल समुदायको बस्ती  छ । यो बस्तीमा बस्ने सबै जसोले एउटै पेशा व्यवसाय गर्दै आएका छन, त्यो माटोको भाँडाहरु बनाउने हो । अहिले पनि भाँडा बनाउने काम चलिरहेको छ । यतिबेला काँचो माटोलाई आकार दिएर जीबन चलाइ रहेका छन् । काचो माटोलाई आकार दिएर आगोमा पोलेर तयार पारिएका माटोको भाडाँ उनीहरुको घर आगनमा सजिएका छन् । काचो माटो पनि थुपारिएको छ । कोहि माटोको भाडाँ बनाउदै छन्,भने कोही काचो माटो मोल्दै छन् । तर, यो पेशाबाट आम्दानी भने खासै नभएको र परिवार पाल्नै समस्या भएको उनीहरु बताउँछन् । गढवा गाउँपालिका ६ का धनराज कुमालले यो पेशाबाट आफ्नो दैनिकी चलाउँदै आएको बर्षाै भयो । तर, पछिल्लो समय बजारमा माटो भाडाँ भन्दा प्लाष्टिकका भाडाँहरु पाइने भएपछि आफुहरुले बनाएका सामाग्रीहरु विक्न छाडेको उनको भनाइ छ । ‘ गमला, खुतुर्के, घैटा लगाएतका सामाग्रीहरु बनाउने गर्दछौँ,’ उनले भने,‘ पहिला दाङको घोराही, तुलसीपुर, लमही तिर सामाग्रीहरु जाने गर्दथ्ये । तर, अहिले  बजारमा प्लाष्टिकका भाडाँहरु प्रसस्त पाइन्छ । पहिले जस्तो हामीले उत्पादन गरेका सामाग्रीहरु विक्रि हुदैन् । सामाग्रीहरु विक्रि नहुदाँ हामीलाई धेरै समस्या हुदै आएको छ । ’ उनका अनुसार आफुहरुको पछिल्लो समय माटोका सामाग्रीहरु विक्न छाडेपछी छोराहरु पनि कमाउन बाहिर गएका छन् । २ वटी छोरी ३ वटा छोरा रहेका कुमालका एउटा छोरा ईट्टा उद्योगमा र २ वटा भारतमा कमाउन गएका छन् ।

आफुहरुको पुख्यौँलीले पेशा माटोको भाडाँहरु बनाउने भएता पनि यस पेसाबाट घरको दैनिकी चलाउन समस्या हुने भएकाले छोराहरु यो पेशामा नलागेर कमाउन बाहिर गएको उनले बताए । धनराजलाई मात्र नभइ सोही ठाउँका बलराम कुमाललाई पनि उहि समस्या छ । न  त माटोका भाडाँहरु विक्री हुन्छ ,न माटो पनि प्रशस्त पाइन्छ । उनले भने,‘ भाडाँहरु बनाउन भने विक्री हुदैन् । विक्री भएपाि एक ÷दुइ वटामा मात्र  हुन्छ । बनाएर राखौँ भने पनि माटो प्रशस्त पाइदैन् । माटो लिनलाई पनि टाढा जानु पर्ने बाध्यता छ । भाडाँहरु रंगाउने पनि कलर पाइदैन् । हामी धेरै समस्यामा छौँ । हाम्रो मुख्य पेशा भनेको यहि ने हो । यस्तै अवस्था रहने हो, भने हाम्रो पेशा नैँ लोप हुने अवस्था छ । ’ माटोको भाडाँलाई एक÷दुइ हप्ता जति सुकाएर फेरी आगोमा पोल्नु पर्छ । अनि बल्ल विक्रि गर्न सकिन्छ । सामुदायिक वन र राष्ट्रिय वन नजिकै छ, तर दाउरा भने सहजै पाइदैन् । जेनतेन माटोको भाडाँ बनाउदै आएका यहाँका कुमाल समुदायको माटाको भाडा बनाउने पेशा संकटमा पर्न थालेको छ । केहि वर्ष अघि सम्म त्यो सिंगो कुमाल समुदायले बनाएका भाडाँहरू जिल्लाका घोराही, तुलसीपुर, र पुरै देउखुरी क्षेत्र हुदै कैलाली कंचनपुर सम्म लैजान्थ्ये । १० बर्षको उम्मेरदेखि माटोको भाडाँ बनाउँदै आएका सोही ठाउँमा अर्का छोटु कुमालले पछिल्लो समय आफुहरुले बनाएको सामाग्रीहरु विक्रिहरु छाडेको बताउछन् ।

‘अहिले बुढो पनि भइयौँ । पहिला जस्तो विक्री हुदैन् । विक्री गर्नको लागि पनि लैजान सकिदैन् । फेरी पहिलेको जस्तो पनि विक्री हुदैन् । अब कसरी घरको गुजरा चलाउने हो,’ उनले भने ।  आफुहरुले माटाका सामाग्रीहरु उत्पादन गर्ने गरेता पनि बजारको समस्या भएको कुमाल अगुवा बिनोद थारुले बताए । हाम्रो पुख्यौली पेशा भएता पनि पछिल्लो समय युवाहरुले यसप्रति चासो दिन छाडेको उनले बताए । ‘ पहिला हामीहरु भारी बोकेर नै विभिन्न ठाउँहरु पुग्ने गर्दथ्यौँ। तर, पछिल्लो समय माग पनि कम हुने र फोन सम्पर्कबाट कारोबार हुने भएकाले बोकेर जादैनौँ,’ उनले भने । अहिले गढवा गाउँपालिकाको सहयोगमा भाडाँ पोल्नको लागि नयाँ भट्टी निर्माण भएको उनले बताए । उनले यो आफुहरुको पेशालाई संरक्षण गर्नको लागि राज्यले बजारको ब्यवस्थापन गरिदिनु पर्ने बताए ।   माटोका भाडाँ बनाउने पेशा लोप हुन थालेपछि  गढवा गाँउपालिकाले पनि यसमा चासो दिन थालेको छ  । कुमालहरुको पेशा पछिल्लो समय संकटमा परेको भन्दै गाउँपालिकाले यो पेशा संरक्षण गर्न आवश्यक रहेको भन्दै माटो, दाउरा आधुनिक भट्टी बनाउन सहयोग गरेको  गाउँपालिका अध्यक्ष सहजराम यादवले बताए । उनले कुमाल जातिहरुको  माटो भाडाँ बनाउने पेशा नै मुख्य भएकाले आफुहरुले ध्यान दिएको बताए । अहिले पछिल्लो समय युवा पुस्ताहरु आफ्नो पेशाप्रति भन्दा अन्य पेशा तिर लाग्दा नै पेशा संकटमा पुगेको अवस्थामा आफुहरुले यसलाई पेशालाई समय सापेक्ष बनाउन आफुहरुले सोचेको समेत उनले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार