तुलसीपुर : तुलसीपुर उपमहानगरपालिका ७ गैरापातुका बल बहादुर वली विगत ३ बर्षदेखि उखु खेती गर्दै आएका छन् । लामो समय सम्म भारतको सिमलामा बस्दै आएका वली विगत ३ बर्षदेखि उखु खेती गर्दै आएका हुन् । उनले जम्मा २ कठ्ठा जमिनमा उखु खेती गर्दै आइरहेका छन् । वलीले भारतको सिमलामा पनि उखु खेतीमा काम गरेका थिए । त्यहिबाट खेती गर्न सिकेका उनले आफ्नै ठाउँमा गर्दै आएका छन् । विगतका बर्षहरुमा मेला महोत्सवमा उखु बेच्दै आएको भएता पनि कोरोनाका कारण ति सबै बन्द भएपछि उनले हिजो आज दैनिक साइकलमा उखु बोकी बजारमा विक्रि गर्दै आइरहेका छन् । उनले दैनिक एक हजार देखि ५ हजार सम्मको उखु साइकलमा बोकेर नै बेच्दै आएको बताए । विगतका बर्षहरुमा मेला महोत्वसव हुदाँ समय मै सबै उखु विक्री हुने गरेको भएता पनि अहिले मेला महोत्सव नलाग्दा तुलसीपुर बजार, विद्यालय सम्म पुगेर विक्री गर्ने गरेको उनले बताए ।
अहिले विक्री गर्नको लागि उखु तयार भएको र फागुन अन्तिम सम्म विक्रि नभए उखुमा नुनिलो पदार्थ हुने भएकोले विक्री नहुने समेत उनको भनाइ छ । शुरुमा १० हजार लगानी गरेर खेति गरेका उनले बर्षीक एक लाख बढिको आम्दानी गर्दै आइरहेको उनले बताए । उनले शुरुमा तरकारी खेती गरेको बताउदैँ त्यसबाट खासै आम्दानी नभएपछि ३ बर्ष देखि व्यवसाय परिर्वतन गरी उखु खेती शुरु बताए । उखु विभिन्न रोगका विरामीलाई पनि अत्यन्त लाभदायक हुन्छ । उखु लगाएको १० महिनाबाट उत्पादन लिन सकिने र ६ महिना देखी ८ महिनासम्ममा विक्रि गर्न सकिने उनले जानकारी दिए । उखुमा रोग किराको प्रकोप कम हुने भएकोले विषादीको प्रयोग कम गर्ने गरेको उनले बताए । अहिले उखु खेती गरेको ठाउँमा सिंचाईको समस्या रहेको समेत उनले बताए । करिब १ किलोमिटर टाढा रहेको पातुखोलामा मोटर लगाएर सिंचाई गर्दै आएको उनले बताए । बजारमा उखुको रस बेच्नेहरुले प्रति किलो १० ले राख्ने गरेको भएता पनि आफुले ७० रुपैयाँदेखी १५० रुपैयाँ प्रति डण्डीको दरले विक्री गर्ने गरेको बताए ।