फाइल फोटो
काठमाडौं : चिकित्सा क्षेत्रको सुधारका निम्ति पटक पटक अनसन बस्दै आएका डा. गोविन्द केसीले प्रतिनिधिसभा विघटनविरुद्ध २०औँ अनसन सुरु गर्ने बताएका छन् । बिहीबार माइतीघर मण्डलमा पत्रकार सम्मेलन गर्दै प्रतिनिधिसभा विघटनविरुद्ध ३ बुँदे माग जारी गर्दै संविधानको रक्षाका निम्ति अनसन बस्ने घोषणा गरेका हुन् । विज्ञप्तिमा भनिएको छ ,‘आगामी कैयौँ पुस्ताका नेपालीहरुको भविष्य अन्धकार हुने गरी हाम्रो संविधान नकुल्चियोस् भन्नका लागि हामीले नागरिक प्रतिरोधको सर्वोच्च अस्त्र सत्याग्रह शुरु गर्ने निर्णय गरेका छौं । हाम्रा मागहरु पूरा नभएमा २०७७ फागुन १२ गतेदेखि सत्याग्रह शुरु गर्ने घोषणा गर्दर्छौं । साथै, संविधानमाथि भएको निरंकुश प्रहारलाई निस्तेज पार्ने आफ्नो मौलिक कर्तव्य पूरा गर्न अहिंसात्मक पहलकदमी लिन सम्पूर्ण नागरिक पंक्तिलाई समेत अपिल गर्दछौँ ।’
हाल प्रतिनिधि सभा विघटनको विषयमा सर्वोच्च अदालतमा चलिरहेको न्यायिक प्रक्रियालाई सबै नागरिकहरुले नजिकबाट नियालिरहेको पनि उनले बताएका छन् । देशको सर्वोच्च न्यायालयले संविधानको रक्षा गर्नेछ भन्ने सबै नागरिकको अपेक्षा रहेको बताउँदै अन्य संवैधानिक निकायहरुको कार्य सम्पादनमा पनि त्यस्तै चासो र निगरानी रहेको उनले विज्ञप्तिमार्फत् भनेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग लगायतका संवैधानिक निकायहरुलाई आफ्ना निहित स्वार्थ पूरा गर्न वा कुनै व्यक्ति विशेषको प्रतिसोध साँध्ने हतियार नबन्न/नबनाउन खबरदारी गर्नुपर्ने डा. केसीले बताएका छन् । यसै सिलसिलामा हाल असंवैधानिक रूपमा संवैधानिक निकायहरूमा गरिएका नियुक्ति सर्वसत्तावाद लाद्ने संविधान विरोधी कार्य भएको पनि डा. केसीले विज्ञप्तिमार्फत भनेका छन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली देशको प्रधानमन्त्री रहेसम्म संविधान मात्रै नभई सिंगो देश नै सुरक्षा खतरामा रहने विज्ञप्तिमार्फत डा. केसीले भनेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘केपी ओली देशको प्रधानमन्त्री रहेसम्म हाम्रो संविधान मात्रै नभई सिंगो देशको स्वार्थ र सुरक्षासमेत खतरामा रहनेछ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।छ । अहिलेकै रफ्तारमा प्रतिगमन हुने हो भने निषेध, हिंसा र मुठभेडको राजनीतिले टाउको उठाउने सम्भावना प्रचुर छ ।