१४ दिनदेखि छोरा सम्पर्कविहिन, घर परिवारद्धारा खोजी कार्य गरिदिन सबैमा आग्रह

Author Logo..
अनलाइन राप्ती २०७७ माघ २८ गते बुधवार


 घोराही :  घोराही उपमहानगरपालिका ५ भैसापथ्रा निवासी २२ बर्षीय देवेन्द्र वलीलाई खोजी कार्य गरिदिन घर परिवारले सबैमा आग्रह गरेको छ । १४ दिन देखि सम्पर्क विहिन भएका वलीको खोजी गरिदिन उनको बुवा दोर्ण बहादुर वलीले सबैमा आग्रह गरेका छन् । बुधवार घोराहीमा पत्रकार सम्मेलन गरी बेपत्ता छोराको खोजी गरिदिन प्रहरी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, कलेज प्रशासन लगाएत सबैमा उनले आग्रह गरेका छन् । छोरा देबन्द्र घोराहीमा रहेको राप्ती शिक्षा क्याम्पस पढ्नका लागि माघ १५ गते गएको हाल सम्म सम्पर्कमा नआएको भन्दै उनले खोजी गरिदिन आग्रह गरेका हुन् । ‘बीएड प्रथम बर्षमा अध्ययनरत छोरा कोठाबाट कलेज जान्छु भनेर निस्किएको थियो, तर, उ आजको दिन सम्म १४ दिन भयो । अहिले सम्म कसैको सम्पर्कमा आएको छैन्,’ पत्रकार सम्मेलनमा बुवा दोर्ण बहादुरले भने ,‘ हामीले आफन्तीसँगै विभिन्न ठाउँमा खोजी गरिसक्यौ । तर, उ भेटिदैन् । कलेजबाट पनि चित्तबुझ्दो जवाफ आउँदैन ।’
उनले कलेजबाट विद्यार्थी हराएको ३ दिन बितिसक्दा समेत घर परिवारलाई सम्पर्क नगर्नु र साथीले पुलिस केस नगराँै भन्नुले आफुहरुलाई घट्नाप्रति आशंका उत्पन्न भएको समेत बताए ।

‘कलेज पढ्न गएको छोराको झोला कलेजमै छ, तर उसको पत्तै छैन,‘ उनले भने,‘ त्यही पनि कलेजले घरपरिवारलाई विद्यार्थी हराएको जानकारी गराउँदैन ? यो कलेजको कस्तो कार्य हो ? ’ उनले पढ्न गएको विद्यार्थी कलेज समयमै कलेजमै झोला राखेको अवस्थामा हराउँदा पनि कलेजले खोजी कार्यमा बेवास्था गरिरहेको समेत बताए । ‘ हामीलाई छोरा हराएको खवर रेडियोबाट फोन आयो र, थाहा पायौँ । तर, कलेजले खवर नै गरेन् । हामीले छोरा हराएको खवर पाएपछि कलेजसँगै जिल्ला प्रहरी कार्यालयलाई पनि जानकारी गरायौँ । तर, कलेजले खोजी कार्यमा ध्यान दिदैन्,’ उनले भने । साथै, अहिले सम्म पनि प्रहरीले समेत भेटाउन नसकेकाले अति गहिराइमा पुगेर घटना बारेमा अनुसन्धान गरेर हराइरहेको छोराको खोजी गरिदिन समेत उनले आग्रह गरे । यता प्रहरीले भने हराइरहेका वलीको खोजी कार्य भैरहेको जनाएको छ । घटना बारे जानकारी पाएपछि घटनाको अनुसन्धानसँगै हराइरहेका व्यक्तिको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । वली घोराहीमा रहेको रेडियो स्वर्गद्धारीमा समेत काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार