घोराही : नेपाल महिला संघकी पूर्व केन्द्रिय अध्यक्ष एवं कांग्रेस नेतृ डिला संग्रौलाले नेपाली कांग्रेस आगामी १४ औँ महाधिवेशनको तयारीमा जुटिसकेको बताइन् । नेपाल प्रेस युनियन दाङ शाखाले सोमबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानको सर्वोच्चता र पार्टीकोे वैधतालाई बचाउनु कांग्रेसको अहिलेको प्रमुख कार्यभार रहेकाले महाधिवेशनको तयारीमा जुटेको बताइन् ।
केन्द्रिय सदस्य संग्रौलाले पार्टीलाई थप उर्जाशील बनाउन र संगठित गर्न क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण, पार्टीभित्रको केन्द्रदेखि गाउँ वडासम्मको पार्टी सुदृढीकरण समयमा नै गरी सक्नु पर्ने हुँदा यसतर्फ केन्द्रित भएको बताइन् ।
उनले अहिले मुलुक राजनीतिक संकटमा फसेको बताउँदै संविधानको सर्वोच्चताको सरंक्षणका लागि नेपाली कांग्रेस सरकारको कामलाई लिएर विरोधमा उत्रिएको बताइन् । उनले गएको पुुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक रुपमा प्रतिनिधि सभा विघटन गरेपछि २ चरणको आन्दोलनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरी सकेको कांग्रेसले तेश्रो चरणको आन्दोलन थालेको जिकिर गरिन् । उनले प्रधानमन्त्री ओलीको उक्त कदम प्रतिगामी, सर्वसत्तावाद तथा असंवैधानिक ठहर गर्दै निर्विकल्प संसद पुनस्र्थापना हुनु पर्ने कांग्रेसको माग रहेको पनि प्रष्ट पारिन् । यस्तै, उनले महिला जागरणको अभियान अब गाउँगाउँ टोल टोलसम्म लैजान आवश्यक रहेको बताइन् । मुलुकको हरेक परिवर्तनमा महिलाहरुको भूमिका अहम् रहेको स्मरण गराउँदै उहाँले अब देशमा महिलाहरुले फेरी पनि आफ्नो भूमिका खोज्नु पर्ने बेला आएको समेत बताइन । महिलाहरुका लागि अहिलेको संविधान र नेपाली कांग्रेसको पार्टीले गरेको व्यवस्था अनुसार १ तिहाइ प्रतिनिधित्वलाई जागरुक बनाउनका लागि हरेक स्थानमा जागरण, सचेतना तथा प्रशिक्षण अभियान आवश्यक रहेको बताइन् । बुटवलबाट थालिएको जागरण अभियान दाङ, प्युठान, रुकुम, रोल्पा, सल्यान, जाजरकोट, सुर्खेत, बाँके, बर्दियासम्म पुग्ने बताइन् । प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके शीतलले गरेका थिए ।