• २०७७ फाल्गुन १६ गते आइतवार

सरस्वती पूजाको अवसरमा बालबालिकालाई सामुहिक अक्षरारम्भ

Author Logo..
अनलाइन राप्ती २०७७ फाल्गुन ४ गते मङ्गलवार

 


घोराही :  दाङको घोराही उप–महानगरपालिका वडा नं २ मा रहेको ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कलले सरस्वती पूजाको अवसर पारेर बालबालिकाहरुलाई सामूहिक अक्षरारम्भ गराउनुका साथै शिक्षाको विकासमा योगदान पू¥याउने सामुदायिक विद्यालयका पाँच जना सेवा निवृत्त प्रधानाध्यापकहरुलाई सम्मान गरेको छ । सरस्वती पूजाका दिन मंगलवार विद्यालयमा एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिका वडा नं १ र २ का शिशु कक्षामा आउनसक्ने उमेर समूहका ३५ जना बालबालिकाहरुलाई सेवा निवृत्त प्रधानाध्यापकहरुबाट अक्षरारम्भ गराइएको हो । विद्यालयको सेवा क्षेत्रभित्र शिशु कक्षामा आउने उमेर समूहका विद्यार्थीहरुको पहिचान गरी अक्षरारम्भ गराइएको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालले जानकारी दिए । अक्षरारम्भ कार्यक्रममा सहभागि बालबालिकाहरुको निशुल्क भर्ना र यो शैक्षिक बर्षका लागि कुनै पनि प्रकारको शुल्क नलिइने र उनीहरुलाई आवश्यक पर्ने स्टेशनरी समेत निशुल्क उपलव्ध गराइने अध्यक्ष खनालले जानकारी दिए ।
गाउँमा शिक्षाको विकासमा योगदान गर्ने ५ पूर्व प्रधानाध्यापकहरु सम्मानित
ग्रामिण क्षेत्रमा शैक्षिक गुणस्तर कायम गर्नका लागि नयाँँ ब्यवस्थापनका साथ गतबर्षदेखि सञ्चालनमा आएको विद्यालयले गाउँमा बसेर शिक्षाको विकासका लागि योगदान पू¥याउनुहुने सामुदायिक विद्यालयका ५ जना सेवा निवृत्त शिक्षकहरुलाई सम्मान पनि गरेको छ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत समाजमा शिक्षाको विकासका लागि महत्वपूर्ण योगदान गर्ने शिक्षकहरुलाई सम्मान गरिएको ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कल रामपुरका प्रधानाध्यापक शिव भण्डारीले जानकारी दिए । गंगा माध्यमिक विद्यालय रामपुरका पूर्व प्रधानाध्यापक चन्द्रप्रसाद सुवेदी, आधारभूत विद्यालय सिमलताराका पूर्व प्रधानाध्यापकहरु तपोनिधि शर्मा घिमिरे र पूर्णबहादुर मल्ल र जनता माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तुल्सीराम शर्मा र किशोर पाण्डेले गाउँमा विद्यालय स्थापनासँगै विद्यालय सञ्चालनको नेतृत्व लिएर समाजमा शिक्षाको विकासमा महत्वपूर्ण योगदान गरेकाले सम्मान गरिएको प्रधानाध्यापक भण्डारीले बताए ।


गाउँतहमै सुविधासम्पन्न शिशु कक्षा सञ्चालनमा
सरस्वती पूजाको अवसर पारेर ज्योतिपूञ्ज मोडेल इङ्लिस स्कल रामपुरले सुविधासम्पन्न शिशु कक्षा पनि सञ्चालनमा ल्याएको छ । पूर्णरुपमा बालमैत्री शिक्षण क्रियाकलापमा आधारित उक्त विद्यालयले सुविधासम्पन्न शिशु कक्षा समेत सञ्चालनमा ल्याएको छ । साना बालबालिकाहरुलाई विद्यालय आउने वातावरण तथा सानैबाट शिक्षासँगै संस्कारका बिभिन्न पक्षहरु सिकाउने उद्देश्यले आजदेखि शिशु कक्षाको आरम्भ गरिएको विद्यालयका प्रधानाध्यापक शिव भण्डारीले बताउनुभयो । उक्त शिशु कक्षा सञ्चालनका लागि तालिम प्राप्त शिक्षक र सहयोगीको ब्यवस्था गर्नुका साथ प्रविधिमैत्री सिकाइको ब्यवस्था, विद्यार्थीहरुका लागि प्रसस्त खेल्ने र सिक्ने सामाग्री लगाएतको ब्यवस्थापन गरिएको छ ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गुरुप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा शिशिष्ट अतिथिहरु ५ जना सेवा निवृत्त प्रधानाध्यापकहरुले बालबालिकाहरुलाई आक्षरारम्भ गराए । कार्यक्रममा सम्मानित ब्यक्तित्वहरुले आफूहरुले गरेको योगदानको विद्यालयले स्मरण गरी सम्मान गरेकोमा प्रसन्नता ब्यक्त गरे । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भण्डारीले विद्यालयका योजनाका बिषयमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यालयका सञ्चालहरु ध्रुवराज पौडेल र माधव खनाल लगायतकाले दाङको पूर्वी क्षेत्रको शैक्षिक बिकासमा योगदान गर्दै समाजमा बिक्ने र टिक्ने जनशक्ति उत्पादन गर्ने गरी विद्यालयले काम गरिरहेको बताए । शैक्षिक सत्र २०७६ देखि विभिन्न नयाँ कार्यक्रमहरुका साथमा नयाँ व्यवस्थापनका साथ संचालन भइरहेको विद्यालयले विभिन्न नविनतम योजनाहरुका साथमा आफ्नो शैक्षिक कार्यक्रमहरु संचालन गरिरहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार