नेपालगंजका चेतन मानन्धर हत्यामा संलग्न फरार २ अभियुक्त पक्राउ

भाईको हत्या गर्ने दाई पनि पक्राउ
Author Logo..
अनलाइन राप्ती २०७७ पुष २८ गते मङ्गलवार


बाँके : नेपालगंजका चेतन मानन्धरका हत्यारालाई बाँके प्रहरीले पक्राउ गरेको छ । २०७२ साल असार २८ गते नेपालगंज ८ निवासी २८ बर्षीय मानन्धरको हत्यामा संलग्न भएका नेपालगंज १८ कारकादोका ३० बर्षीय हरि वली र सोही ठाउँका ३१ बर्षीय विवाद पाठकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले मंगलवार पत्रकार सम्मेलन गरी जनाएको हो । नेपालगंज १२ सुर्खेतरोडमा मानन्धरको हतियार प्रहार गरी हत्या गरिएको थियो । उक्त घटनामा संलग्न वली र पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगंज इजलासले आजीवन कैद सजाय तोकेको थियो । त्यस लगत्तै उनीहरु फरार थिए ।  उनीहरुलाई सोमवार साँझ साढे ७ बजेतिर नेपालगंज २ सुर्खेत रोडबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै लाठी प्रहार गरी भाईको हत्या गरेका दाईलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोमवार साँझ करिब ५ बजेतिर बाँकेको नरैनापुर गाउँपालिका ४ का ३० वर्षीय ईसराईल खाँले १७ वर्षीय भाई रहिस खाँको हत्या गरेका थिए ।  आपसी रिसिवीमा उनले बारिसी बाबा सामुदायिक वनमा भाईको हत्या गरेको बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले बताए ।

त्यस्तै ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउन सुगरसहित विराट भनिने पदम मल्ल पक्राउ परेका छन् । राँझा विमानस्थलबाट मुगु छायाँनाथ नगरपालिका २ का २४ वर्षीय मल्ललाई ४ ग्राम ९ सय ६० मिलीग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । त्यस्तै भन्सार छली चोरी पैठारी गरी ल्याइएको १० वटा खच्चर नेपालगंज १२ संसानघाटबाट बरामद गरिएको प्रहरी प्रमुख रानाले बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार