प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ फाइनलमा प्रवेश

Author Logo..
अनलाइन राप्ती २०७७ पुष १८ गते शनिवार

दाङ : सुदूरपश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । फाइनल पुग्ने क्रममा सुदूर पश्चिमले दिएको ६१ रनको विजयी लक्ष्यलाई एपीएफले १५ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो । टिमलाई जिताउन ओपनर ब्याटर ज्योती पाण्डेले अविजित रहदै २६ रनको योगदान गर्दा सरिता मगरले पनि अविजित रहदै १९ रन बनाएकी थिइन् । त्यसअघि ४र४ ओभरमा टिमको स्कोर १४ रन हुँदा कविता कुवँरको बलमा क्याच आउट हुन् पुगेकी कप्तान सीता राना मगरले ७ रन बनाएकी थिइन् ।

त्यसअघि खराब मौसमका कारण १६ ओभरमा घटाईएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुदूर पश्चिम प्रदेशले निर्धारित पूरै ओभर खेल्दै ७ विकेट गुमाएर ६० रन बनाएको थियो । टिमले उक्त रन बनाउने क्रममा उसका लागि मध्य क्रममा ब्याटिङ गर्न आएकी कविता जोशीले सर्वाधिक ठूलो पारी खेलिन् । अविजित रहेकी उनले २१ बलको सामना गर्दै २ चौकासहित २२ रनको योगदान गरेकी थिइन् । यस्तै टोलीका लागि ओपनर ब्याटर रेवती धामीले १२ रन तथा कविता कुवँरले ९ रन बनाएकी थिइन् । बलिङतर्फ एपीएफका लागि करुणा भण्डारीले सर्वाधिक ३ विकेट हात पारिन् । ४ ओभर बलिङ गरेकी उनले उक्त विकेट लिने क्रममा मात्र ११ रन खर्चिएकी थिइन् । यस्तै कप्तान सिता राना मगरले पनि १ विकेट लिन सफल भएकी थिइन् । अब एपीएफले प्रदेश १ र लुम्बिनी बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आईतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार