राप्ती प्रादेशिकमा भेन्टिलेटरका लागि उपमहानगरले भवन बनाउने

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर ९ गते मङ्गलवार


दाङ :  तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने भएको छ । राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडी बढाइएको हो । योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेण्डर प्रक्रिया अगाडी बढाएको छ । उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारकाले उपकरण सहयोग गरेपछि सेवा सूचारु हुने अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।
तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै विरामीहरु रेफर हुने गरेका छन् । तत्काल आइसियु सेवा सञ्चालन होस् भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडी बढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए । उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको बताए । तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र वनाउनका लागि आफुहरु निरन्तर लागेको पनि उनको भनाइ छ ।  यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका बिचमा भवन निर्माणको सम्झौता भएको छ ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार