समाजसेवी वलीले पक्कि घर बनाइ दिएपछि तिला र टिकाराम खुशी ( फोटो एण्ड भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ मङ्सिर १ गते सोमवार


तुलसीपुर :  दाङको तुलसीपुर उपमहानगरपालिका ४ नयाँबस्तीकी तिला पुन अहिले १२ बर्षकी भइन् । उनका ६ बर्षका भाई टिकाराम पुन पनि छन् । केही बर्ष पहिले बुवाले आमा हत्या गरेर बुवा कारागार चलान भएपछि उनी र उनका भाई जिवन टुहुरा भए । उनका ३ वटी दिदीहरु छन् । तर सबैको विवाह भइसकेको छ । दिदीहरुको विवाह भएको र आमाको मृत्यु, बुवा कारागारमा भएपछि उनीहरु टुहुरा भए । जंगलको छेउमा रहेको घरमा उनीहरु बस्न नसक्ने भएपछि ठुला बुवाको घर गए ।

त्यहाँ पनि बस्नको लागी राम्रो नभए पछि फेरी दिदीसंग नारायणपुर गए । त्यहाँ पनि राम्रो नभएपछि फेरी आफ्नै घर आए । घरमा कोही नबस्दा घर भत्किएपछि वडाले खाद्यान्न र टिक सहयोग गरेपछि स्थानियहरुले सानो टिनले बारेको घर बनाइ दिए । त्यहि घरमा बस्दै आएका उनीहरुलाई दाङ दंगीशरण गाउँपालिका ६ निवासी युवा ब्यवसायी जयराम वलीले २ कोठे पक्कि घर निर्माण गरिदिए पछि उनीहरु धेरै खुशी भएका छन् ।

आमाको मृत्यु र बुवा कारागारमा भएपछि बेसहारा जीवन विताइरहेको उनीहरुले अहिले पक्कि घर पाएपछि धेरै खुशी भएको तिलाले बताइन् । उनी अहिले कक्षा ५ मा र भाई कक्षा २ मा पढ्दै छन् । तर तिलाले पढाइसंगै घरको जिम्मेवार पनि हेर्दै आएकी छन् । लकडाउनको समयमा राहत बाड्ने क्रममा यहाँ आउँदा उनीहरुको अवस्था देखेपछि आफुले उनीहरुको लागी २ कोठे पक्कि घर निर्माण गरिदिएको युवा ब्यवसायी जयराम वलीले बताए ।

घर निर्माण गर्दा करिब साढे ५ लाख खर्च लागेको समेत उनले बताए । साथै उनले उनीहरुलाई पढाउने जिम्मेवारी पनि आफुले नै लिएको बताए । ‘ दुबै भाईलाई कक्षा १० सम्म पढाउने जिम्मेवारी पनि लिएको छु । अहिले तिला कक्षा ५ र टिकाराम कक्षा २ मै पढ्दैन्,’उनले भने । त्यसैगरी उनले अन्य ठाउँमा काम गर्दा स्थानियतहबाट नै अवरोध हुने गरेको भएता पनि यहाँ घर बनाउँदा वडासंग समन्वय गरेर निर्माण गरेको बताए । वलीले लकडाउनको समयमा दाङका विभिन्न स्थानियतहमा करिब ४०/५० लाख बराबरको खाद्यान्न सहयोग गरेको बताए ।

त्यस्तै स्थानियहरुले पनि उनीहरुलाई सहयोग गर्दै आएको बताएका छन् । ‘उनीहरुको अवस्था धेरै कष्टकर थियो । तर अहिले नयाँ घर पाएका छन्, भने विभिन्न ठाउँबाट खाद्यान्नहरु पनि सहयोग हुदै आएको छ । अहिले उनीहरुको अवस्था अलि राम्रो भएको छ,’ स्थानिय चन्द्र कुमारी पौड्ेलले बताइन् । साथै उनले खाद्यान्न नभएको समयमा आफुहरु दिने गरेको समेत बताइन् ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार