बाँके : राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुरमा स्थापित राप्तीसोनारी अस्पतालले आइतबारबाट औपचारिक रुपमा सेवा सञ्चालनमा ल्याएको छ । उक्त अस्पतालको प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष लाहुराम थारुले औपचारिक रुपमा उद्घाटन गरेका थिए । अस्पतालको उद्घाटन गर्दै प्रमुख अतिथी थारुले अस्पतालको सेवालाई गुणस्तरिय बनाउने प्रतिबद्धता जनाए। उनले सरकारको नीति अनुसार गाउँपालिकामा १५ शैयाको अस्पताल सञ्चालन गरिएको र अस्पताल स्थापना भएपछि गाउँपालिकाबासीलाई धेरै राहत मिलेको बताए । नेपाल सरकारको स्वास्थ्य मापदण्ड अनुसार अस्पताललाई नियमित रुपमा सञ्चालन गरिने र अस्पताल सञ्चालनका लागि कार्यविधी बनाउने तयारीमा गाउँपालिका रहेको पनि जानकारी दिए । ‘अस्पताल नामाकरणका लागि विभिन्न नाम प्रस्ताव भएपनि अन्तिममा राप्ती सोनारी अस्पताल नामाकरण गर्ने हामीले सर्बसम्मत रुपमा टुंगो लगाएका हौ,’ अध्यक्ष थारुले भने। अस्पतालले यसक्षेत्रका बिरामीलाई सस्तो भन्दा सस्तोमा सेवा दिने समेत उनले जानकारी दिए ।
कार्यक्रमका विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्रीले गाउँपालिका क्षेत्रमा एमबिबिएस डाक्टरसहितको अस्पताल सञ्चालनमा आएपछि यहाँका जनताले सुबिधा पाएको बताइन् । अस्पताल सञ्चालनमा आएसँगै बिरामीहरु सानोतिनो रोगको उपचारका लागि बाहिर जानु नपर्ने उनको भनाइ छ ।
अस्पताल सञ्चालक समितिका अध्यक्ष तथा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष कान्छा थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जीवन न्यौपाने, गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, भेरी अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर संकेत रिसाल, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधी लगायतले बोलेका थिए ।
सरकारले प्रत्येक गाउँपालिका र नगरपालिकामा १५ शैयाको अस्पताल बनाउने नीति अनुसार तत्कालिन बैजापुर स्वास्थ्य चौकीलाई स्तरोन्नती गरेर अस्पताल सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले जानकारी दिए । उनका अनुसार उक्त अस्पतालले साधारण शल्यक्रिया सेवा समेत प्रदान गर्नेछ । अस्पतालसँग हाल १२ कोठे नवनिर्मित भवन रहेको छ । गाउँपालिकाले उक्त अस्पतालका लागि एमबिबिएस डाक्टर गोविन्दप्रसाद चौधरीलाई नियुक्त गरिसकेको छ ।
अस्पताल उद्घाटनका अबसरमा रोटरी क्लब अफ सेन्ट्रल बाँकेले निःशुल्क स्वास्थ्य शिविर गरेको थियो ।
उक्त शिविरमा भेरी अस्पताल नेपालगन्जका पुर्वमेडिकल सुपरिटेण्डेन्ट एवम् वरिष्ठ सर्जन डाक्टर रुपानन्द अधिकारी, वरिष्ठ फिजिसियन डा। संकेत रिसाल, स्त्रीरोग विशेषज्ञ डाक्टर कुमारसान शाह, छालारोग विशेषज्ञ डाक्टर आर.के झा, बालरोग विशेषज्ञ डाक्टर कुलदिप गोइत, नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश चौधरी, नेत्र सहायक बिमल कार्की, लगायतले बिरामीको उपचार गर्नु भएको रोटरी क्लबका टेकबहादुर पुनले जानकारी दिए । वरिष्ठ सर्जन डाक्टर अधिकारीको नेतृत्वमा करिव आधा दर्जन हाईड्रोसिलका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको थियो ।