शान्तिनगर २ ले भारत जानेलाई सिफारिस दिँदा वडाले असुल्यो प्रतिव्यक्ति ५ सय

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक १७ गते सोमवार

दाङ :  दाङको शान्तिनगर गाउँपालिकाले रोजगारीको सिलसिलामा भारत जान खोज्नेलाई सिफारिस दिएवापत प्रतिव्यक्ति पाँच सयका दरले असुलेको छ।रोजगारीका लागि भारतको गोवा जान सिफारिस बनाउन गएका स्थानीय २३ वर्षीय सुनिल खड्कासँग आइतबार गाउँपालिका अन्तर्गत वडा नं. २ को वडा कार्यालयले पाँच सय रुपैयाँ असुलेको हो।

खड्का भारतको होटेलमा कुकको काम गर्छन्। उनी दशैं मान्नका लागि घर आएका थिए।  ‘म भारतको होटेलमा कुकको काम गर्छु,’ खड्काले भने  ‘होटेलले छिटो आउ भनेर ताकेता गरेको हुँदा भारत जान सिफारिस लिन वडामा  जाँदा पाँच सय रुपैयाँ लाग्यो।’ आफूसँगै रोजगारीका लागि भारत जान लागेका स्थानीय सतबहादुर पुन, आशिष खड्का, तेजबहादुर वली पनि सिफारिस लिन वडा कार्यालयमा गएको र पाँच सय रुपैयाँ लाग्ने भनेपछि सिफारिस नलिएर फर्किएको उनले जानकारी दिए।

‘मेरो त सिफारिस भइसक्यो र म आजै भारतको गोवा जाँदै छु,’ खड्काले थपे ‘ वडा कार्यालयले सिफारिस गरे वापत पाँच सय लाग्छ भनेपछि साथीहरुले सिफारिस नलिएरै फर्किनु भएको हो।’

यो विषयमा बुझ्न खोज्दा वडाध्यक्ष फर्साराम डाँगीले आफूलाई जानकारी नभएको बताए। ‘ यस्तो कुरा हामीलाई जानकारी हुन्न, सचिवलाई सोध्नुहोस्।’ गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ६ का वडाध्यक्ष रवि बुढाथोकीले सिफारिस दिए वापत कुनै पनि रकम लिने निर्णय नगरेको बताए। ‘रोजगारका लागि भारत जाने गरिव श्रमिकसँग सिफारिस दिएवापत पैसा उठाउने भन्ने कुरै आउँदैन,’ प्रवक्ता बुढाथोकीले भने  ‘गाउँपालिकाले त्यो निर्णय गरेकै छैन, यदि कसैले गरेको छ भने त्यो गलत हो र तत्काल रोकिनु पर्छ।’ वडा नं. २ का वडा सचिव टोपबहादुर घर्तीसंग यसबारे जानकारी लिन खोज्दा सम्पर्क हुन सकेन।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार