बाँके : राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर बिकले आइतबारबाट कार्यालयको जिम्मेवारी औपचारिक रुपमा सम्मालेका छन् । यसअघिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतको अन्यत्र सरुवा भएपछि उनको ठाउँमा बिक दाङको शान्तिनगर गाउँपालिकाबाट हालै सरुवा भएर आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत बिकलाई गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनी कुमारी खत्री तथा विभिन्न विषयगत शाखा प्रमुखले स्वागत गरेका थिए ।
गाउँपालिकाले आइतबार औपचारिक रुपमा परिचयात्मक कार्यक्रम नै गरेर स्वागत गरेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष लाहुराम थारुले जनप्रतिनिधी र कर्मचारीबीच समन्वय भएपछि मात्र गाउँपालिकाको समग्र विकास र समृद्धि हुने बताए । ‘गाउँपालिकालाई राम्रो बनाउनका लागि हाम्रो जिम्मेवारी त छदैछ, त्यसमा पनि हाम्रो कामलाई सहज बनाइदिन र राम्रो बनाउन कर्मचारीको ठुलो हात हुन्छ,’ उनले भने । जनप्रतिनिधी र कर्मचारीले आफ्नो काम, कर्तब्य पालना गरेपछि गाउँपालिकाले फड्को मार्ने उनले भने। उनले भने, ‘जसले जे जिम्मेवारी पाएको छ, त्यसको पालना गर्नुपर्छ, जसले बढी काम जानेको हुन्छ, उसले नै बढी जिम्मेवारी पाएको हुन्छ ।’
कर्मचारी पनि सेवा निवृत्त भइसकेपछि समाजमै फर्किनुपर्ने बताउँदै उनले कर्मचारीले काम गर्दा जनतालाई कहिल्यैपनि दुःख दिन नहुने धारणा राखे । गाउँपालिकामा सुशासन कायम गर्न र बेरुजु कम गर्नमा पनि कर्मचारीको धेरै भूमिका रहने अध्यक्ष थारुले बताए । यसअघिका प्रमुख प्रशासकीय अधिकृतले राप्ती सोनारी गाउँपालिकामा केही न केही परिवर्तन ल्याएको स्मरण गराउँदै उनले नयाँ प्रमुख प्रशासकीय अधिकृतले पनि केही नयाँ काम गरेर देखाउनुपर्ने सुझाव दिए ।
प्रमुख प्रशासकीय अधिकृत बिकले कर्मचारी र जनप्रतिनिधीबीचको सम्बन्ध नङ र मासुको जस्तो रहेको भन्दै जनप्रतिनिधीसँग मिलेर काम गर्नुको बिकल्प नरहेको बताए ।‘कर्मचारी भनेको राजनीति र प्रशासनबीचको अन्तर सम्बन्ध हो,’ उनले भने,‘कर्मचारी जहिल्यैपनि जनप्रतिनिधीप्रति नै उत्तरदायी हुनुपर्छ ।’ कर्मचारीले काम गर्ने क्रममा आफ्नो क्षमता, सिप र ज्ञानको उपयोग गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बिकको भनाइ छ । कर्मचारी र जनप्रतिनिधी मिलेर मात्र गाउँपालिकालाई समृद्ध र सम्मुनत बनाउन मद्धत गर्ने उनले जोड दिए ।
सो क्रममा गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, लेखा शाखा प्रमुख गौरव लामिछाने, योजना शाखा प्रमुख बालानन्द पौडेल, शिक्षा शाखा प्रमुख जीवन न्यौपाने, स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडाली, कृषी शाखा प्रमुख चन्द्रा शाही, प्राविधिक शाखा प्रमुख लगायतको उपस्थिती रहेको थियो ।