तुलसीपुर : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तर वृद्धि भएको छ । सचिव स्तरीय निर्णयबाट दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताललाई २ सय बेडको स्वीकृत प्रदान गरिएको छ । यस अघि ५० बेडको स्वीकृत भएपनि ९५ बेडमा संचालन हुदै आएको थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७७ भदौ ११ को सचिव स्तरीय बैठकले निर्णय गरेपनि कार्यान्वयनका लागि भने बिहिबार मात्र जानकारी गराइएको थियो ।
अस्पताल व्यवस्थापन संचालनका लागि १० करोड ५ लाख बजेट समेत विनियोजन भएको छ । यसका लागि लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाले सम्बन्धित अस्पतालहरुलाई कार्यान्वयनका लागि परिपत्र समेत गरिसकेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. सर्वेश शर्माले जानकारी दिए ।
२०७७/७८ को नीति तथा कार्यक्रम अनुसार साविका जिल्ला अस्पतालाई २५ देखि ५० बेड र अंचल अस्पतालाई २ सय बेडको जनरल अस्पतालका रुपमा स्त्तरोन्नती गराउने कार्यक्रम अनुसार राप्ती प्रादेशिक अस्पताल सहित ९ वटा अस्पतालको स्तर वृद्धि गरिएको हो ।जस अन्तर्गत रोल्पाको रोल्पा अस्पतालाई १५ बाट ५० ,रुकुम पूर्व अस्पताललाई १० बाट २५ , प्युठान अस्पतालाई ३० बाट ५० ,अर्घखाँची अस्पताललाई ३८ बाट ५० , गुल्मी अस्पताललाई ३० बाट ५०, पाल्पा अस्पतालाई १५ बाट ५० , कपिलवस्तु अस्पतालाई ३६ बाट ५० , पृथ्वीचन्द्र अस्पताल नवलपरासीलाई पनि ५० बेडको बनाएर स्तर वृद्धि गरिएको छ ।