काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कार्तिक २१ गते केन्द्रीय समितिको बैठक बोलाएको छ । समसामयिक राजनीतिक परिस्थिती र पार्टीको १४ औं महाधिवेशन तयारीका विषयमा छलफल गर्न कांग्रेसले पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बोलाएको हो ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।यसअघि असोज १९ गते बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक छ जना सदस्यमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि स्थगित भएको थियो । असोज २५ को बैठक पनि पार्टीका पूर्व कोषाध्याक्ष रामबाबु प्रसाईंको निधन भएपछि स्थगित भएको थियो ।
बैठकबाट फागुन ७ मा पार्टीको महाधिवेशन सम्पन्न गर्नेगरी बाँकी कार्यतालिका हेरफेर गर्ने कांग्रेसको तयारी छ । साथै फागुनमा महाधिवेशन सम्पन्न हुन नसक्ने अवस्थामा कति समयपछि गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् । बैठकमा कांग्रेसले सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि गरेका कामको समीक्षा समेत गर्ने जनाएको छ ।