काठमाडौं : यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत सनराइजर्स हैदरावादले शानदार जित निकालेको छ ।मंगलबार भएको खेलमा हैदरावादले दिल्लीविरुद्ध ८८ रनको सहज जित निकालेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा हैदरावादले दिल्ली क्यापिटल्सलाई जितका लागि दिएको २२० रनको बलियो लक्ष्य दिल्लीले १९ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै मात्र १३१ रन बनाउन सक्यो ।
दिल्लीका लागि रिशव पन्तले सर्वाधिक ३६ रनको योगदान गरे । त्यस्तै टुशार देशपाण्डेले २० रन बनाउँदा रिशव पन्तले २६ तथा शिमरोन हेटमायरले १६ रन बनाए ।बलिङतर्फ हैदरावादका लागि राशिद खानले सर्वाधिक तीन विकेट लिए । त्यस्तै सन्दीप शर्मा र थनगार्सु नटराजनले समान दुई–दुई विकेट लिन सफल भए । हैदरावादका लागि साहाज नदिम, जेशन होल्डर र विजय शंकरले समान एक–एक विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१९ रन बनाएको थियो ।हैदारावादका लागि डेभिड वार्नर र रिद्धिमन साहाको अर्धशतकीय पारी खेले । ४५ बल खेलेका रिद्धिमनले १२ चौका र २ छक्काको रहयोगमा ८७ रनको योगदान गरे । त्यस्तै ३४ बल खेलेका वार्नरले ८ चौका र २ छक्काको सहयोगमा ६६ रन बनाउन सफल भए ।
हैदरावादका लागि मनिस पाण्डेले ४४ रन बनाउँदा केन विलियम्सनले ११ रनको योगदान गरे । बलिङतर्फ दिल्लीका लागि अरिच नोटेज र रविचन्द्र आश्विनले समान एक–एक विकेट लिए । आजको खेलमा जित निकाल्दै हैदरावाद तालिकाको छैटौं स्थानमा उक्लेको छ ।हैदरावादको प्लेअफमा पुग्ने सम्भावना कायम रहेको छ । हैदरावादले १२ खेलबाट १० अंक जोडेको छ । पराजित दिल्लीको १२ खेलबाट १४ अंक छ । दिल्ली तालिकाको तेस्रो स्थानमा रहेको छ ।