काठमाडौं : जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा राजस्थान रोयल्सले मुम्बइमाथि शानदार जित हात पारेको छ । युएईकाे अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा आइतबार राति भएको खेलमा मुम्बईमाथि राजस्थानले ८ विकेटको शानदार जित हात पारेको हो ।
सुरूमा मुम्बईले राजस्थानलाइ १९६ रनको लक्ष्य दिएकाे थियाे । उक्त लक्ष्य राजस्थानले १८ ओभर २ बलमा नै पूरा गर्यो, यसक्रममा उसले २ विकेट मात्र गुमाउन पुग्याे । बाँकी ८ विकेटले जित हात परेकाे हाे ।
राजस्थानका लागि बेन स्टोक्सले अविजित यात्रा राखेर ११७ रनको शतकीय इनिङ्स पूरा गरे भने स्टोक्सले ६० बलमा ३ छक्का र १४ चौका प्रहार गरे । साथै सन्जु सामसन पनि अविजित रहँदै ५४ रनको अर्धशतकीय इनिङ्स पूरा गर्न सफल भए ।
उता मुम्बईका जेम्स पाटिनसनले राजस्थानकाे २ विकेट झारेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९५ रन बनाएको थियो ।