काठमाडौं : इण्डियन प्रिमियर लीग (आइपीएल) को पछिल्लो खेलमा रोयल च्यालेञ्जर्स बेंग्लोर विजयी भएको छ । आइपीएलको पछिल्लो खेलमा बेंग्लोरले कोलकाता नाइट राइडर्स माथि ८ विकेटको सहज जित निकालेको हो । ८५ रनको झिनो लक्ष्य बेंग्लोरले मात्र दुई विकेटको नोक्सानीमा १३ दशमलव ३ ओभरमा पूरा गरेको थियो ।
उसका लागि देवदत्त पडीक्कलले २५ रन बनाउँदा गुरगिरत सिंह २१ तथा कप्तान विराट कोहली १८ रनमा अविजित रहे । बलिङतर्फ कोलकाताका लोकी फर्गुसनले एक विकेट हात पारे । यसअघि आबुधाबीस्थित शेख जायद रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर मात्र ८४ रन बनाउन सक्यो ।
कोलकाताका लागि कप्तान इयोन मोर्गनले सर्वाधिक ३० रन बनाए । त्यस्तै लोकी फर्गुसनले नटआउट १९, कुलदीप यादवले १२ तथा टम बेन्टनले १० रन जोड्नु बाहेक अन्यले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङमा बेंग्लोरका मोहमेद सिराजले ३ तथा युजभेन्द्र चहेलले २ विकेट लिए । चार ओभर बलिङ गर्दै दुई ओभर मेडन फालेर मात्र आठ रन दिएर तीन विकेट लिएका सिराज म्यान अफ द म्याच चुनिए । जितसँगै बेंग्लोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने कोलकाताका चौथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज राजस्थान रोयल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुनेछ