उपकरण उन्मुख किसान

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक ६ गते बिहिवार

दाङ : पछिल्लो समयमा दाङका कृषकहरू नयाँ– नयाँ कृषि उपकणहरू प्रयोग गर्न थालेका छन् । खेतबारीमा बीउ रोप्नेदेखि अन्नबाली स्याहार्नेसम्मका कृषि उपकरणहरू प्रयोग गर्न थालेका हुन् । हिजोआज किसानहरू गोरूलाई जोताउँदै दिन भर हलोको पछि–पछि लाग्नुपर्ने अवस्था छैन ।दाङको मुख्य अन्नबाली धान स्याहार्ने समय भएकाले कृषकहरूलाई चटारो छ । प्राय किसानहरूले धान काट्नको लागि रिपर मेसिन प्रगोग गरेका छन् भने धान काटिसकेपछि थ्रेसरले धान दाउन थालेका छन् । पहिलेको जस्तो हप्ता दिन लगाएतर धान दाउने कृषकहरू एक घण्टामा नै धान दाउने काम गरेका छन् ।

पाँच दिन लगाएर चार कठ्ठा धान दाउने सौडियारका खुशलराम चौधरीले एक घण्टामै त्यो पनि खेतमै धान दाएर सक्छन् । ‘गोरूले धान दाउदा पाँच दिनमा तीन/चार कठ्ठा धान सकिन्थो’ कृषक चौधरीले भने ‘थ्रेसर प्रयोग गर्न थालेपछि एकै घण्टामा काम सकिन्छ ।’ उनले विगत तीन वर्षदेखि गोरू पाल्न छाडिसकेका छन् । ‘शुरूमा खेतबारी जोत्दा टेक्टरले जोत्ने गर्थे, त्यसपछि टेक्टर नै धान दाउने काम भयो’ उनले भने ‘अहिले थ्रेसर प्रयोग गरिरहेको छु ।’ धान थ्रेसर प्रयोग गर्न थालेपछि एक घण्टामा ४०/५० क्विन्टल धान दाएको उनको अनुभव छ ।

चार हल गोरू बेचेर खेत जोत्न र धान दाउनको लागि टेक्टर किनेको बताए । उनले गहुँ थ्रेसर, टेक्टरबाट मकैको बीउ रोप्ने गरेको बताउँछन् ।कृषि उपकरण प्रयोग गर्न थालेपछि छिटो समयमा खेतबारीको काम सकिने लमही नगरपालिका–२ सोनपुरकी राम चौधरीको अनुभव छ । कृषि उपकरण प्रयोग गर्दा परम्परागत खेती प्रणालीभन्दा दोब्बर उत्पादन हुने उनले बताए । समयको सदुपयोगसँगै राम्रो उत्पादन हुने हुँदा नयाँ–नयाँ कृषि उपकरणहरू प्रयोग गर्ने गरेको उनको भनाई छ ।

छिमेकी किसानले पावर टिलरले खेत जोतेको र थ्रेसर धान दाएको देखेपछि आफू पनि आकर्षिक भएको घोराही सेवारका झग्गु चौधरीले वताए । ‘मेरो खेतको नजिकै छिमेकी किसान र मैले खेतको धान दाउन शुरू ग¥यौ, उनले थ्रेसरले धान दाएका थिए, मैले दुई हल गोरूले धान दाईरहेको थिए’ उनले भने ‘छिमेकीले एकैदिनमा धान दाईसक्दा पनि मैले पाँच दिनसम्म पनि सकेन ।’ धान थ्रेसरले धान दाउदा थोरै श्रममा छिट्टै समयमा काम सकिने उनको अनुभव छ ।

यि पात्रहरू मात्र होईनन् । पछिल्लो समयमा अधिकांश किसानहरू कृषि आधुनिकीरणमा होमिएका छन् । समथर ठाउँमा खेत भएको किसानहरू पावर टिलर, रोटाभेटर मेसिनहरू अपनाएका छन् भने किसानहरू परम्परागत स्थानीय हलोलाई परिमार्जन गरेर उन्नत फलामे हलोहरू अपनाएका छन् । औजार तथा उपकरणहरूले खेतमा जोत्ने तथा धानको बीउ रोप्नको लागि हिलो बनाउन उपकरणहरू प्रयोग गरेका अन्य किसनाहरूले पनि सिको गर्न थालेका छन् । यो समाचार प्रदेश टुडे पत्रिकामा सपना बोहराले लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार