सरकारले अवदेखि कोरोना संक्रमितको परीक्षण र उपचार खर्च नव्यहोर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ कार्तिक २ गते आइतवार

काठमाडौ  :  सरकारले अबदेखि कोरोना संक्रमितको परीक्षण र उपचार खर्च नव्यहोर्ने भएको छ । आइतबार बसेको स्वास्थ्य मन्त्रालयको बैठकले अस्पताल भर्ना भएका कोरोना सङ्क्रमितबाट उपचार खर्च लिने निर्णय गरेको हो । नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले अवदेखि सबै सरकारी तथा निजी अस्पतालले कोरोना परीक्षण तथा उपचारका लागि शुल्क लिने जानकारी दिए ।

यसअघि सरकारले कोरोना संक्रमितको निःशुल्क परीक्षण तथा उपचार गर्दै आएको थियो । प्रवक्ता गौतमका अनुसार अब सरकारले अति अपांगता, जेष्ठ नागरिक, सरसफाईकर्मी , सुरक्षाकर्मी र अग्रपंक्तिमा खटिने कर्मचारीको मात्रै उपचार खर्च व्यर्होनेछ । उनीहरुले बीमा गरेको भएमा बीमाबाट परीक्षण तथा उपचार खर्च कटाउने पनि मन्त्रालयले जनाएको छ । त्यस्तै सरकारले सबै निजी, सामुदायिक तथा मेडिकल कलेज तथा सरकारी अस्पतालले कुल शैय्याको ५० प्रतिशत शैय्या कोभिडका बिरामीका लागि छुट्याउन निर्देशन दिएको छ ।

लक्षण नभएका कोरोना संक्रमितलाई अस्पतालबाट १० दिनमा डिस्चार्ज गर्ने निर्णय समेत सरकारले गरेको छ । डिस्चार्ज भएपछि एक साता अनिवार्य होम आइसोलेसनमा बस्नुपर्ने मन्त्रालयले जनाएको छ । यसअघि चौध दिनमा डिस्चार्ज गर्ने नियम बनाइएको थियो । कोरोनाको उपचारका लागि रेम्डिसिभिर औषधि मन्त्रालयमा सूचीकृत अस्पतालहरूको फार्मेसीबाट विक्री वितरण गर्ने व्यवस्था पनि मन्त्रालयले मिलाएको छ । कोरोना परीक्षण गर्ने प्रयोगशालाहरुलाई दसैंमा नबमी, दशमी र एकादशी तीन दिनबाहेक नियमित सेवा सञ्चालन गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार