काठमाडाैं : सरकारले गैरनाफामूलक कम्पनीको रुपमा दर्ता भएका यातायात कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय गरेको छ। विहीवार गृहमन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्बाङसहित दुई मन्त्रालयका पदाधिकारी सहितको बैठकले सो निर्णय गरेको हो।
केही यातायात कम्पनीले पुरानै यातायात समितिको सिण्डिकेटलाई निरन्तरता दिनेगरी गैरनाफामूलक कम्पनी र एकल स्वामित्वमा रहनेगरी यातायात कम्पनी खोलेको गुनासोपछि त्यस्ता कम्पनीको रुट परमिट खारेज गर्ने निर्णय भएको हो। बैठकले सिण्डिकेट खारेजीको यसअघिको गृहमन्त्रालयको निर्णय कार्यान्वयनको अनुगमन बढाउने निर्णय पनि गरेको छ।