दाङ : दाङ प्रहरीले सामाजिक सञ्जाल इमोमार्फत चिठ्ठा प¥यो भनेर ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका ६ का १८ बर्षीय सुमन झा, रौतहट जिल्ला गोनाही ६ का ५० बर्षीय सोनालाल ठाकुर र पर्सा जिल्ला विरगंज महानगरपालिका १६ नगवा का १८ बर्षीय राजनारायण चौरसिया रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिए ।
उनीहरुले दाङको लमही नगरपालिका ५ की २ महिलालाई इमोमार्फत चिठ्ठा प¥यो भनेर ठगी गरेका थिए । यहि असोज २२ गते पीडित महिलाले इमोमार्फत चिट्ठा प¥यो भनेर आफुलाई ठगी गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएपछि दाङ प्रहरीले खोजतलाका क्रममा उनीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी टोलीले रौतहट प्रहरीको सहयोगमा २ जना र पर्सा प्रहरीको सहयोगमा १ जनालाई पक्राउ गरेको हो ।
उनीहरुले ठुलो धनराशीको प्रलोभन देखाइ आइएमइ तथा विभिन्न व्यक्तिगत बैंक खातामार्फत त्रिसठ्ठी हजार रुपैया रकम पठाउन लगाएका थिए । उक्त रकम पठाइसके पछि पनि पुनः फोन, म्यासेज, भ्वाइकलका माध्यमबाट थप रकम पठाउन बारम्बार आग्रह गरेपछि महिलाहरुले आफुहरु ठगिएको महसुश गरेर प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
सोहि निवेदनको आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदा रौतहट र पर्सा जिल्लाबाट उनीहरुलाई पक्राउ गरेको प्रहरी प्रमुख एपसी चन्दले बताए । पक्राउ परेका व्यक्तिहरुलाई ७ दिनको म्यादथप गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।