दाङमा विभिन्न कार्यालयका कर्मचारीमा कोरोना पुष्टि, कार्यालय बन्द

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २८ गते बुधवार

दाङ :  दाङमा पछिल्लो समय कोरोना संकमणको दर तीव्र रुपमा समुदायस्तरमै फैलिरहेको छ । सरकारी कार्यालयमा बढी भिडभाड हुने भएकोले कार्यालयका कर्मचारीमा पनि दिनप्रति दिन कोरोना संक्रमण पुष्टि हुने गरेको छ । तुलसीपुरमा रहेको नापी कार्यालयका एक जना सर्वेक्षक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय एक हप्ता बन्द गरिएको छ । बुधबारदेखि कात्तिक ४ गते सम्मका लागि उक्त कार्यालय बन्द गरिएको कार्यालयका प्रमुख शरद आचार्यले बताए ।

त्यस्तै जिल्ला समन्वय समिति दाङका एक कर्मचारीमा कोरोना देखिएको छ । कर्मचारीमा कोरोना देखिएपछि अतिआबश्यक बाहेकका सेवाहरु समेत बन्द गरिएको जिल्ला समन्वय अधिकारी सावित्रा पुन थापाले जानकारी दिइन् । । जिल्लाका सरकारी कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय बन्द गर्ने गरिएको छ ।  त्यस्तै तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था एक हप्ताका लागि बन्द भएको छ ।

कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बुधबार देखि कार्तिक ४ गते सम्मका लागि बन्द गरिएको एक विज्ञप्ती जारी जानकारी गराएको छ । साथै कार्यालयले नियमित पानी संचालन बाहेक अन्य कामकाज बन्द गरी सात दिनका लागि कार्यालय शिल गरिएको बताएको छ । त्यस्तै घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्षलाई कोरोना भाइरसको संक्रमण भए पछि एक साता वडा कार्यालय बन्द गरिएको छ ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा स्वाब परिक्षण गर्दा वडा अध्यक्ष रविलाल घर्तीमगरलाई मंगलवार कोरोना संक्रमण देखिएको हो । कार्यबाहक वडा अध्यक्ष पबित्रा विकको अध्यक्षतामा बुधवार बैठक बसी कार्तिक ४ गते सम्म वडा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । साथै यसैबिचमा अध्यक्षको सम्पर्कमा रहि काम गरेका जनप्रतिनिधी एवं कर्मचारीहरुले समेत पीसीआर परीक्षण गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार