सरकारले भन्यो, ‘नागरिक संवेदनशिल नभए पुनः लकडाउन हुन्छ’

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार

काठमाडौं  : सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लकडाउन हुन सक्नेतर्फ सबैलाई सचेत गराएको छ । सरकारले गरेका आग्रहको नागरिकस्तरबाट अवज्ञा भए पुनः लकडाउन हुनसक्ने तर्फ सरकारले सचेत गराएको हो । नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने बताए ।

अहिलेको अवस्थामा लक डाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको भन्दै उनले नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताए । चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने उनको भनाई छ । लकडाउन गर्ने -नगर्ने कुरा सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा भर पर्ने उनले बताए ।

त्यस्तै उनले संक्रमणको जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका छन् । काठमाडौं उपत्यकामा ६० प्रतिशत बढी संक्रमित देखापर्न थालेको भन्दै उनले नागरिकहरुलाई सचेतना अपनाउन अपिल गरेका हुन् । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उनले संक्रमणको अवस्था जटिल बन्न नदिन सचेत भएर सरकारलाई साथ दिन आग्रह गरे । दशै, तिहार र छठजस्ता चाडपर्वहरुमा भींडभाड हुने र संक्रमण झन बढ्ने खतरा हुनेतर्फ पनि सबैले ध्यान दिन उनले आग्रह गरे ।

जेष्ठ नागरिकहरुको सुरक्षा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सानो लापरवाहीले गर्दा जीवनमा नै जोखिमको अवस्था आउन नदिन आग्रह गरे । काठमाडौंमा संक्रमणको दर बढिरहेको सन्दर्भमा उनले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्ज लगायतका क्षेत्रमा संक्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडी बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार