काठमाडौं : चिकित्सा शिक्षा सुधारको माग राख्दै २७ दिनदेखि सत्याग्रहमा रहेका डाक्टर गोविन्द केसीले अनशन तोडेका छन् । उनले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् । जुस पिलाउने ४६ वर्षीय नेपाली कोरोना संक्रमण भएर निको भएका व्यक्ति समेत हुन् ।
शनिबार मध्यराति डाक्टर गोविन्द र सरकारी वार्ता टोलीबीच ८ बुँदे सहमति भएको हो । सहमतिमा अनशनरत डा। केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले हस्ताक्षर गरेका थिए । शनिबार नै अनसन तोड्ने सहमति भएको भए पनि डा. केसीले आज बिहान २८ औं दिनमा अनशन तोडेका हुन् ।
८ बुँदे सहमतिमा सरकार र डा।केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम संचालन गर्ने सहमति भएको छ । अन्यत्र २०८० फागुन १० भित्र पढाई शुरु गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निष्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम्म वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको छ ।
यस्तै, चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा गरिएको सम्झौतालाई पनि राखिने उल्लेख छ ।