बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २५ गते आइतवार

बाँके :  बाँकेको  भेरी अस्पतालमा उपचाररत २  जना कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ। नेपालगञ्ज  १० ट्राफिक चोक निवासी ८४ वर्षीय पुरुष र कोहलपुर  ८ निवासी ७१ वर्षीया महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन  नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति ९ः५५ बजे मृत्यु भएको थियो भने त्यसको पाँच मिनेटको अन्तरमा १० बजे महिलाको मृत्यु भएको थियो।  श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गर्दा पुरुषमा गत असोज ६ गते र महिलामा १४ गते कोरोना सङ्क्रमण देखिएको थियो।

२  जनालाई भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारको आवश्यक उपचार गरिए पनि स्वास्थ्य अवस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको  श्रेष्ठले बताए।

यससहित बाँके जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार