काठमाडौं : नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरुमा आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बहिस्कार गर्ने भएको छ । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १९ औं आमरण अनशनमा बस्नु भएका डा. गोविन्द केसीका मागको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा कोभिड १९ र आकस्मिक सेवा बाहेकका सबै सेवा बहिष्कार गर्ने संघले बताएको छ ।
संघको शनिबार भर्चुअल माध्यमबाट बसेको केन्द्रीय कार्यसमिति बैठकले उक्त निर्णय गरेको संघका महासचिव डा. बद्री रिजालले बताए । आमरण अनशनमा रहनु भएका डा. केसीको जीवन रक्षाका लागि सरकार गम्भिर नभएकाले आकस्मिक र कोभिड १९ बाहेकका सबै सेवा बन्द गर्न आफुहरु बाध्य भएको पनि उनले बताए । सरकार गम्भिर पनि नहुने र वार्ता एवं सम्वादलाई औपचारिकतामा मात्रै सिमित गरिएको भन्दै संघले गम्भिर आपत्ति समेत प्रकट गरेको छ ।