घोराहीका १५ बर्षीय र कोहलपुरका ३८ बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २४ गते शनिवार

बाँके :  बाँकेमा अस्पतालमा उपचाररत २ जना कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका ३ गोग्ली निवासी १५ वर्षीय बालक र कोहलपुर नगरपालिका ९ निवासी ३८ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय बालकको उपचारका क्रममा शुक्रबार राति करिब नौ बजे मृत्यु भएको हो ।

निमोनियाबाट ग्रसितको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । त्यस्तै कोहलपुर नगरपालिका ९ पिपरी निवासी ३८ वर्षीय पुरुषको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारकै क्रममा गएराति ११ बजे मृत्यु भएको छ ।

श्वास प्रश्वासमा समस्या भएपछि गत असोज १३ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भई परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएपछि उपचाररत उनलाई स्वास्थ्यमा थप समस्या भएपछि शिक्षण अस्पतालले गएराति करिब १० बजे भेरी अस्पतालमा पठाएको थियो । अस्पताल पुगेको एक घण्टामै उपचारको क्रममा मृत्यु भएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

यो सहित बाँकेमा कोरोना सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या २४ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारको क्रममा बाँकेमा आई मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार