तुलसीपुर : भमके खोलाको कचवे सरसफाई गरिएको छ । कचवेमा पानीले गर्दा लेउ लागेर सवारी साधन नै चिप्लिएर दुर्घटना हुन सक्ने भएकाले सरसफाई गरिएको हो । वडा नं. १ का जनप्रतिनिधि, कर्मचारी, प्रहरी , युवा, स्थानीय लगाएतको सहभागितामा खोलाको कचवे सरसफाई गरिएको वडाध्यक्ष लक्ष्मण भण्डारीले जानकारी दिए । तुलसीपुर, भमके हुदै खिलतपुर जाने सडक अन्र्तगत पर्ने भमके खोलामा पुल नहुँदा पश्चिम दाङका माथिल्लो भेगका नागरिकहरुले बर्षायाममा खोलामा पुल नहुदाँ जोखिममा यात्रा गर्न बाध्य हुन्छन्, भने हिउँमा कचवेमा लेउ लाग्दा सवारी साधन चिप्लिदाँ दुर्घटना हुने गर्दछन् ।
त्यसैगरी उक्त खोलामा पुल निर्माणको लागि प्रक्रियामा गइसकेको वडाध्यक्ष भण्डारीले बताए । प्रदेश सरकारबाट बजेट बिनियोजन भएर टेण्डर हुन बाँकी रहेको र आगामी वर्षदेखि नागरीकले सास्ती भोग्न नपर्ने उनले बताए । खोलाको सरसफाई पछि साना सवारी साधनलाई आवात–जावातमा सहज भएको छ ।
उक्त सडक खण्ड अन्तरगत पातेटाकुरा खोला, बहुला खोलामा पनि पक्कि पुल नहुदाँ नागरिकले सास्ती भोग्दै आएका छन् । ति खोलाको कचवेमा समेत लेउ लागेको हुन्छ । जसले गर्दा साना सवारी चलाउन जोखिम हुने शान्तिनगर २ का प्रकाश वलीले बताए । अन्य खोलाहरुमा भन्दा बहुला खोलामा लेउ धेरै हुने गरेको र धेरैका मोटरसाइकल चिप्लिएर दुर्घटना भएको समेत उनले बताए ।