प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २० गते मङ्गलवार

बुटवल : प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा आज मतदान हुँदैछ। मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक डाकिएको छ। शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल विवादबीच सोमबार सकिएको थियो। आज मध्यान्ह १२ बजे बस्ने बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने सभामुख पूर्ण बहादुर घर्तीले बताए।

उनका अनुसार मतदानका लागि सबै तयारी पूरा भएको छ। मन्त्री केसीले गरेको प्रस्तावमा दुई तिहाई पुगेमा राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ रहनेछ। प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन्। जसमा नेकपाका मात्र ६१ जना छन्। तीमध्ये सभामुखबाहेक ६० सांसदले मतदान गर्नेछन्। कांग्रेसका १९ सांसदमध्ये लुम्बिनी क्षेत्रका १३ ले विपक्षमा र राप्ती र भेरीका ६ जनाले प्रस्तावको पक्षमा मतदान गर्ने सम्भावना छ।  त्यस्तै, जनता समाजवादीका ६ मध्ये ३ ले पक्षमा र २ ले विपक्षमा मतदान गर्ने जानकारी दिएका छन्।

एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले पनि अहिलेसम्म निर्णय सार्वजनिक गरेको छैन। यद्यपी, नेकपा बाहेक कुनै पार्टीको पनि अहिलेसम्म संसदीय दलबाट निर्णय गराएको छैन। नेकपाको संसदीय दलको सोमबारको बैठकले प्रस्तावको पक्षमा मतदान गर्न ह्वीप जारी गरिसकेको छ। नेकपाको दुई तिहाई बहुमत भएपनि नेकपाका १४ जना सांसदले नोट अफ डिसेन्ट लेख्दै प्रस्तावको विपक्षमा जाने संभावना भएकोले प्रस्तावको पक्षमा दुई तिहाई नपुग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार