स्थायी राजधानीको बिषयमा उत्पन्न विवाद थप पेचिलो बन्दै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १९ गते सोमवार

बुटवल : प्रदेश ५ को स्थायी राजधानीको बिषयमा उत्पन्न विवाद थप पेचिलो बन्दै गएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तोडफोड र होहल्लाका कारण प्रदेशसभा बैठकको सोमवारको कार्यसूची प्रभावित भएको छ । प्रदेशको राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै कांग्रेसका सदस्यहरू प्रदेश सभाको बैठकमा तोडफोडमै उत्रिएका थिए ।

आजको प्रदेश सभा बैठकमा प्रदेश ५ को राजधानी भालुवाङलाई बनाउने र नाम लुम्बिनी नामाकरण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूची थियो । तर, कांग्रेसले लगातार विरोध जारी राखेपछि मंगलवार मध्यान्ह १२ बस्ने गरी आजको बैठक स्थगित गरिएको छ ।
यसअघि आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेश सभा विशेष समितिले तयार पारेको प्रतिवेदअनुसार प्रस्ताव आएको भन्दै सहमति जनाउन आग्रह गरेका थिए ।

आवेगले नभइ विवेकले काम गर्न र इतिहासको मजाक नउडाउन कांग्रेस सदस्यहरूलाई सचेत गराउँदै उनले सभामा भएको अमर्यादित व्यवहारप्रति खेद प्रकट गरे । मन्त्री केसीले प्रदेशसभामा नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न सम्मको आदेश मर्यादापालकलाई दिएपछि सांसदहरु झन् आक्रोशित भएका थिए । तोडफोडकै बीच चलिरहेको बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिन रोस्टममा पुगेका मन्त्री केसीले नाराबाजी गर्ने सांसदलाई घिसारेर निकाल्न मर्यादापालकलाई आदेश दिएका थिए ।

बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका थिए । उनी रोष्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए । विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले आज प्रदेशसभा भित्र टेबुल र कुर्सी तोडफोड गरेका थिए ।  यसैबिच, आजै दिउँसो सम्पन्न नेकपा प्रदेश ५ को संसदीय दलको बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले बुटवललाई वित्तीय राजधानी बनाउने आश्वासन दिए ।

प्रदेशको स्थायी राजधानीका लागि सत्तारुढ नेकपाले दाङको भालुवाङकै पक्षमा मतदान गर्न ह्वीप जारी गरेपछि पोखरेलले बुटवललाई वित्तीय र पर्यटकीय राजधानीका रुपमा विकास गर्ने प्रतिवद्धता जनाए । मुख्यमन्त्री पोखरेलले भालुवाङमा संरचनाहरु नबन्दा सम्म अस्थायी राजधानी बुटवलमै रहने बताए ।

 

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार