राप्तीमा बचत तथा ऋण सहकारी संस्थाहरु एकिकृत हुदै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १९ गते सोमवार


तिर्थराज ज्ञवाली
देउखुरी दाङ :   राप्ती गाँउपालिका क्षेत्रमा कार्य गर्दै आईरहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकिकृत गरेर अघि बढ्ने योजना सहित १ दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।  हाल सहकारी क्षेत्रमा छलफलको विषय रहेको एक व्यक्ति एक सहकारी नीति र सहकारीहरुको सबलीकरणका लागि एकीकरण प्रक्रियालाई अघि वढाउन छलफलका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
गाउँपालिका सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा राप्ती क्षेत्रमा रहेका करिव १५ वटा बचत तथा ऋण सहकारी संस्थाहरुका सहकारीका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सहकारी ऐन २०४८ मा परिकल्पना गरिएको र सहकारी ऐन २०७४ मा निर्दिष्ट ऐन तथा सहकारी नियमावली २०७५ मा दिइएका स्पष्ट निर्देशनहरु पालना गर्दै आगामी कार्तिक मसान्त २०७७ सम्ममा सहकारी बचत तथा ऋण सहकारीसंघ–संस्थाहरुले हासिल गर्नुपर्ने उदेश्य अनुरुप एकीकरण प्रक्रियालाई अघि बढाउन ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ ।

गाउँपालिकामा सञ्चालित बचत तथा ऋणको कारोबार गर्ने सहकारी संघ–संस्थाहरुले घटिमा दुई हजार शेयर सदस्य तथा एक करोडको चुक्ता पुँजी र पाँच करोडको वासलात पुर्याउनैपर्ने प्रावधानले गर्दा पनि साना तथा मझौला प्रकृतिका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एकीकरणमा लैजान हरियाली साकोसका अध्यक्ष तथा जिल्ला बचत संघका कोषध्यक्ष शिवध्वज मल्लको संयोजक रहेको कार्यदय गठन गरिएको छ । कार्यदलको सदस्यमा महाप्रभु साकोसका कृष्ण प्रसाद पौडेल, विहानी साकोसका देव प्रसाद चौधरी, जनजिवकिा साकोसका जिवराज शर्मा र ब्यवस्थापक को तर्फवाट उमेश चौधरीलाई चयन गरिएको छ ।

नेपाल सरकारको नीति तथा घोषणा अनुसार सहकारी संघ–संस्थाहरु एकीकरणमा जाँदा सहकारीहरुलाई सबल र सक्षम संघ–संस्थाको निर्माण गर्न, संघ–संस्थालाई पुँजी, भौतिक तथा मानवीय संसाधनद्वारा सक्षम र आत्मनिर्भर बनाउन, संघ–संस्थाको दिगो विकास र स्थायित्व प्रदान गर्न, सदस्यहरुलाई प्रदान गर्ने सेवामा गुणात्मकता तथा परिमाणात्मकतामा बृद्धि गर्न, एक व्यक्ति एक सहकारी सदस्यतालाई जोड दिन, सञ्चालन खर्चमा कटौती गरी उत्पादन क्षेत्रमा लगानी बढाउन, संघ–संस्थालाई आधुनिक प्रविधिबाट सम्पन्न बनाई व्यवसायीकरण गर्न र सहकारी क्षेत्रमा देखिएका विकृतिहरुमा समय सापेक्ष सुधार गर्न एकीकरण प्रक्रियालाइ अघि बढाईएको जिल्ला सहकारी संघदाङका कोषाध्यक्ष हरि भुसालले जानकारी दिए ।

दुई वा दुईभन्दा बढी सहकारी संघ–संस्थाहरु एक भई कार्य सूचारु गर्नाले एक्लै सञ्चालन हुँदाभन्दा संयुक्त भई सकेपछि सहकारी सबल र सक्षम हुने त्यसैगरी ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिमको पुँजी निर्माणले लगानी योग्य तरलताको पर्याप्तताका साथै योग्य तथा मानवीय संसाधनद्वारा संस्थालाई सक्षम र आत्म निर्भर बनाउन बल मिल्ने कार्यक्रममा बोल्ने सहकारी अभियन्ताहरुले बताए ।

सोमवार भएको कार्यक्रममा एउटै कार्यक्षेत्रभित्र रहेका, एकभन्दा बढी सहकारी संस्थाह, फरक जिल्ला भएता पनि कार्यक्षेत्र जोडिएका सहकारी संस्थाहरु, सञ्चालन लागत घटाएर सदस्यहरुलाई बढीभन्दा बढी प्रतिफल वितरण गर्न लालायित संस्थाहरु, भौगोलिक समानता, एकै प्रकृति र विषयसँग मेल खाने सहकारी संस्थाहरु एकीकरणका लागि आब्हान गरिएको जिल्ला बचत संघ दाङका कोषाध्यक्ष शिवध्वज मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार