दाङ : प्रदेश ५ को स्थायी राजधानी दाङ भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभामा पेस भएसँगै र प्रदेशको नाम भने लुम्बिनी राख्ने निर्णय भएपछि दाङबासी खुसी भएका छन्। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको शीर्ष तहमा दाङ राजधानी बनाउने सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो।
दाङको भालुवाङबासीलाई यो निर्णयबाट औधी खुसी भएका छन्। प्रदेश राजधानी बनाउने निर्णयले आफूहरु खुसी भएको राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगत पोख्रेलले बताए। सुगम जिल्ला भए पनि विकासको दृष्टिकोणले पछि परेको थियो भालुवाङ। ऐलानी जग्गा बढी भएको यो क्षेमा अब भने राजधानीका नामले चर्चित हुने स्थानीयहरू बताउँछन्। राजधानीको निर्णयसँगै यो क्षेत्रमा विकासले फड्को मार्नेमा यहाँका स्थानीय विस्वस्त छन्।
यो विषय दाङ जिल्लालाई सरप्राइज नभए पनि भालुवाङ क्षेत्रलाई भने सरप्राइज नै बनेको छ। चुरे पहाडको फेदीमा र राप्ती नदीको किनारमा पर्ने भालुवाङ अर्घाखाँची र प्यूठान जिल्लासँग जोडिएको क्षेत्र हो। पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा पर्ने भालुवाङ पूर्वी दाङको मुख्य बजार हो। यहीँबाट प्युठान हुँदै रोल्पा जाने राजमार्ग छुट्टिन्छ। प्युठान र रोल्पा जाने नाकासमेत बनेको छ, भालुवाङ। तर भालुवाङ बजार कसैको स्वामित्वमा छैन। यो वन क्षेत्र हो, वनको स्वामित्वमा छ।
त्यहाँको जग्गाको लालपुर्जा बजारमा बस्ने कसैसँग छैन। ३१ बिघाभन्दा धेरै क्षेत्रफलमा भालुवाङ फैलिएको छ। दाङका स्थानीय तहले पनि यो निर्णयलाई स्वागतयोग्य मानेका छन्। यसलाई दाङबासीले स्वागत गर्दै प्रदेश सरकारलाई धन्यवादसमेत दिएका छन्। दाङमा निर्वाचनमा जाने सबै राजनीतिक दलको चुनावी नारा नै राजधानी थियो।
यही नाराले दाङबाटै चुनाव जितेर कृष्णबहादुर महरा सभामुखसमेत बनेका थिए। यही नाराले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले समेत दाङबाट प्रदेशसभामा चुनाव मात्र जितेनन्, मुख्यमन्त्रीसमेत बने। तर प्रदेश राजधानी दाङमा ल्याउन नसकेको भन्दै उनीहरूप्रति दाङवासीले कडा टिप्पणी गर्दै आएका थिए, भने असन्तुष्टि जनाइरहेका थिए।
विभिन्न तरिकाले दबाबसमेत सिर्जना गर्दै आएका थिए। भौगोलिक दूरीका हिसाबले प्रदेशको पश्चिमी जिल्ला बर्दिया दाङबाट एक सय ९० किलोमिटर दूरीमा पर्छ। पूर्वी जिल्ला पश्चिम नवलपरासी पनि एक सय ९० किलोमिटरकै दूरीमा पर्ने भएकाले उपयुक्त स्थान राजधानी छनोट भएको दाङबासीको तर्क छ। यो क्षेत्रमा राजधानी व्यवस्थापनमा भने केही चुनौती र जटिलता पक्कै पनि देखिएको छ।