बुटवल : प्रदेश नम्बर ५ को राजधानी दाङको देउखुरी बनाउने प्रस्ताव प्रदेशसभामा पेश गरिएको छ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव प्रदेशसभामा पेस गरेका छन् । उक्त प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको अन्तिम टुंगो लाग्नेछ । मन्त्री केसीले दाङको राप्ती गाउँपालिका, गढवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको क्षेत्र देउखुरीमा स्थायी राजधानी राख्ने प्रस्ताव प्रदेशसभामा गरेका हुन्। प्रदेश ५ मा प्रदेशको राजधानी रुपन्देही बनाउने कि दाङलाई बनाउने भन्ने विषयमा विवाद हुँदै आएको थियो। प्रदेशसभाको आगामी बैठक असोज १९ गते सोमबार मध्यान्ह १२ बजे बोलाइएको छ। प्रदेश सभाले स्थायी राजधानी र नामको बारेमा निर्णय गर्नका लागि कार्यदल गठन गरेको थियो । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच दाङको देउखुरीमा राजधानी राख्ने सहमति भएपछि प्रदेश सरकारले प्रस्ताव अघि बढाउन लागेको हो ।