दाङ : तुलसीपुर उपमहानगरपालिका १० मोतीपुरकी १ सय ८ बर्षीया गुलिया चौधरी चिटिक्क परेर घरको आँगनीमा बसेकी थिइन् । ज्येष्ठ नागरिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाले सम्मान गर्ने कार्यक्रमको बारेमा पहिल्यै थाहा पाएर उनले बाटोभरी आँखा दौडाइ रहेकी थिइन् । तुलसीपुरबाट उपमहानगरका प्रमुख मेयर घनश्याम पाण्डेको नेतृत्वमा सम्मानका लागि जाँदै गर्दा सबैले उनको अवस्था आँकलन गरेका थिए । ‘बुढो मान्छे ओछ्यानको ओछ्यान होलीन ’ तर सबैले सोचे भन्दा अलग भयो ।
गुलिया चिटिक्क परेर आँगनमा बसेकी थिइन् । घरको आँगनमा गाडी रोकेपछि उनी दौड्दै बाटोमा आइन् । ‘मलाई आज पुरस्कार छ रे ’ भन्दै अनुहारमा उज्यालो छर्दै भनिन् । उनी भर्खरैकी युवती जस्तै देखिएकी थिइन् । तुलसीपुर उपमहानगरपालिकाका मेयर पाण्डेले उनलाई न्यानो कपडाले सम्मान गरे । ‘तपाईलाई यो हाम्रो छुट्टै सम्मान हो, अरु सम्मान पनि हामीले गरिरहने छौ’ उनले भने । उनले तुलसीपुर उपमहानगरपालिकाले ८४ वर्ष नाँघेका ज्येष्ठ नागरिकको सम्मानलाई निरन्तरता दिएको समेत बताए ।
‘तपाईहरु यो समाजको गहनाहो त्यसैले हामीले सम्मान गरेको हो ’ नगरप्रमुख पाण्डेले भने । उनलाई न्यानो कपडाका साथै अन्य विभिन्न कुराले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै चौधरीले आफुलाई सम्झेर घरसम्म आएकोमा खुसी व्यक्त गरिन् । उनले घरमै विशिष्ट व्यक्तिले सम्मान गर्दा थप उर्जा प्राप्त भएको बताईन ।कार्यक्रममा उपप्रमुख माया शर्मा आचार्य, वडाध्यक्ष चित्र वहादुर वली र कुमार लामिछानेको समेत सहभागिता रहेको थियो ।
यसै विच ज्येष्ठ नागरिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिका ४ रक्षाचौर निवासी १ सय वर्षकी दोमन्ता खनाललाई समेत सम्मान गरिएको छ । उपप्रमुखमायाशर्मा आचार्यले उनलाई सम्मान गर्दै ज्येष्ठ नागरिकको सम्मानमा स्थानीय सरकार प्रतिबद्ध रहेको बताइन् ।
उनले जीवनको लामो अनुभव बोकेका ज्येष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नु पर्ने कुरामा जोड दिइन् । उपमहानगर भित्रका सबै ज्येष्ठ नागरिकलाई सम्मानको कार्यक्रम ल्याइएको महिल विकास तथा बालबालिका शाखा प्रमुख विष्णु आचार्यले जानकारी दिइन् । उनले ज्येष्ठ नागरिक दिवसको अवसर पारेर अभियानको सुरुवात गरेको बताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिइने समेत जानकारी दिइन् । तुलसीपुर उपमहानगरपालिकाले जनप्रतिनिधि आएदेखि नै ज्येष्ठ नागरिक सम्मानको कार्यक्रमलाई निरन्तरता दिदै आएको छ ।