सडक सुरक्षाका कार्यक्रम प्रभावकारी नबन्दा जोखिम बढ्यो : मुख्यमन्त्री पोखरेल

Author Logo..
अनलाइन राप्ती २०७७ असोज १४ गते बुधवार

फाइल फोटो

बुटवल :  प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सडकलाई सुरक्षित बनाउन कार्ययोजना बनाएर सरोकारवाला निकायबीच समन्वयात्मक ढंगले काम गर्न निर्देशन दिएका छन् ।  बुधवार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको सडक दुर्घटना न्युनिकरण र रोकथामका लागि भएका प्रयास तथा सुधारका उपाय विषयक सरोकारवाल निकायबीच भएको बैठक उनले सडक सुरक्षाका कार्यक्रम प्रभावकारी नबन्दा जोखिम बढेको बताए ।

‘लकडाउनको अवधिमा पनि धेरैले दुर्घटनाबाट ज्यान गुमाउनु प¥यो, दुर्घटनाको कारण खोजेर काम गर्न सकेमा न्युनिकरण गर्न सकिन्छ,’ उनले भने । उनले सडकमा हुने मर्मतको काम दीगो र भरपर्दो गर्न निर्देशन दिएका छन्। बर्षायामपछि गर्नुपर्ने मर्मत असोजभित्र र नियमित हुने मर्मत फागुनभित्र गरिसक्न र दीगो बनाउन ध्यान दिन मुख्यमन्त्री पोखरेलले ध्यानाकर्षण गराए ।
उनले सडकमा नियमित र आकस्मिक रुपमा चेकजाँचको व्यवस्था मिलाउन तथा चाडपर्व लक्षित सडक सुरक्षा कार्यक्रम गर्नुपर्ने बताए ।

त्यस्तै आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले दुर्घटनाको न्युनिकरणका लागि सबै सरोकारवाला निकायबीच समन्वय गरी अघि बढ्ने र सडक सुरक्षा कार्यक्रम प्रभावकारी बनाउने गरी अघि बढ्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले भएका सडकलाई गुणस्तरीय बनाएर सुरक्षित सडक बनाउन ध्यान दिनुपर्ने बताए । बैठकमा मन्त्रालयका सचिवहरु, प्रहरी अधिकारी,यातायात व्यवसायी संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार