बोयर बाख्रा पालनतर्फबाट आकर्षण बढ्दै

Author Logo..
अनलाइन राप्ती २०७७ असोज ७ गते बुधवार


दाङ :  बोयर जातका खसी बाख्राहरु पालनमा दाङका किसानहरुको आकर्षण बढदै गएको छ । स्थानीय जाताका खसीबाख्रा भन्दा बोयर जातको धेरै तौलको हुने र त्यसबाट धेरै मुनाफा हुने भएकाले पनि बोयर जातका बाख्रा पालनमा आकर्षण बढदै गएको हो । तुलसीपुर ३ डाँडाखुट्टीमा मान बहादुर केसीले बाख्रा पालन ब्यवसाय गर्न लागेको करिब ४ बर्ष हुन लाग्यो ।

१२ बर्ष सम्म ३ वटा खाडी मुलकमा बसेर फर्किएका केसीले १५ वटा स्थानिय बाख्रा र साउथ अफ्रिकन बोयर जातको ३ लाखको एउटा बोका किनेर शुरु गरेको उनले बताए । ‘ १२ बर्ष विदेशमा बिताए । त्यसपछि गाडी किनेर चलाए । त्यसमा पनि सोच जस्तो नभए पछि आफुले जाने बुझेको कृषि पेशा तिर लागे । तर परम्परागत भन्दा पनि नयाँ तरिकाले गर्दा राम्रौ हुदै गएको छ ,’ उनले भने । अहिले फर्ममा माउ बाख्रा स्थानिय र बोयर जातका ७० वटा साउथ अफ्रिकन, अष्ट्रलियन गरी ३ वटा बोयर जातका बोका र अन्य पाठा–पाठी गरी करीब १४० वटा रहेको उनले बताए ।

हाल सम्म करीब डेढ करोड लगानी भएको र त्यो मध्य करिब ६० लाख बैंकबाट ऋण लिएको उनले बताए । पछिल्लो समय गाउँघरमा स्थानिय बाख्रा भन्दा बोयर जातका बाख्राको माग धेरै रहेको उनले बताए । ‘हामीले स्थानिय जातबाट क्रस गराएका ५० देखी ७५ प्रतिशत बोयर पाठा–पाठीहरु विक्री गर्दै आएका छौँ,’उनले भने,‘ तर अहिले सय प्रतिशत नै बोयरको माग हुदैन्् आएको छ । पाठा–पाठी पु¥याउँने धौँ छ । मंसीरदेखी चैत – बैशाख समम बेच्ने सिजन हो । तर मानिसहरुले पहिले नै एडभान्स छोडर जान्छन् । ’ अहिले जिउँदो पाठा–पाठी सय प्रतिशत बोयर बोकाको गुण कति बोकेका छन्, त्यसै अनुसार मुल्य निर्धारण हुन्छ । कममा ६ सयदेखी बढिमा ३ हजार रुपैयाँ किलो सम्म बेच्ने गरेको उनले बताए ।‘

अहिले हामीसंग ३ वटा बोका छन् । हामी अहिले तेस्रो स्टेपमा छौँ । अब हामी स्थानिय लोकल बाख्राबाट नै सय प्रतिशत पाठा – पाठी उत्पादन गर्ने लक्ष्यमा छौँ । सय प्रतिशत बाख्रा किनेर ल्याउँदा महगो पर्दछ ,’ उनले भने । शुरुको बर्षमा खासै आम्दानी नभएता पनि दोस्रो बर्षमा ७÷८ लाख भएको र तेस्रो बर्षमा करिब १५ लाख आम्दानी हुने उनको भनाइ छ । लकडाउन ३ महिनाको अवधीमा मात्र ३ लाख बराबरको पाठा–पाठी विक्री भएको केसी बताए । उनले लकडाउन विभिन्न ब्यवसायमा असर परेको बेला आफ्नो ब्यवसायमा कुनै असर नपरेको समेत बताए ।

केसीले बाख्रा मात्र नभइ उन्नत जातका गाई तथा कुखुरा फर्म समेत संचालन गर्दै आएको उनले बताए । ‘ हामी ३ भाइ छाँै । मैले बाख्रा, अर्को भाईले गाई र अर्का भाईले कुखुरा पालन ब्यवसायमा लागेका छौँ,’ उनले भने । गाई पालन ब्यवसायबाट पनि मासिक करिब ढेड लाखको दुध विक्री गर्दै आएको उनले बताए । मासिक सबै खर्च कटाएर करिब ७५ हजार आम्दानी हुने गरेको समेत उनले बताए । ७ वटा गाईबाट प्रिया गाई फर्म दर्ता गरी शुरु गरेकोमा अहिले १८ वटा विभिन्न जातका गाईहरु रहेको उनले बताए ।

ति गाईबाट दैनिक ७०/८० लिटर दुध उत्पादन हुने र त्यो विक्रि गर्दै आएको समेत उनले बताए ।तर पछिल्लो समय धेरै युवाहरुको आकर्षण कृषि क्षेत्र तर्फ बढ्दै गएको भएता पनि लगानी नहुदाँ समस्या हुने गरेको उनले बताए । सरकारले दिने अनुदान हामी जस्ता सोझाले पाउँदैनौँ, जसको पहुचँ छ । त्यसैले पाउँने हो । बैंक तथा वित्तिय संस्थाहरु पनि धितो विना ऋण दिदैन् । त्यसैले राज्यले यसतर्फ ध्यान दिनु पर्दछ ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार