प्रदेश ५ सरकारले ६ अस्पताललाई ५० शैय्यामा स्तरोन्‍नती गर्ने

Author Logo..
अनलाइन राप्ती २०७७ असोज २ गते शुक्रवार

रुपन्देही  :   प्रदेश ५ को मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ६ जिल्लाका अस्पताललाई ५० शैय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको छ ।प्रदेश ५ का रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शैय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो । निर्णय भएका अधिकांश अस्पताल अहिले १५ बेडका छन् । बैठकले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ ।

यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहका डेण्टल सर्जन डा। वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । त्यस्तै प्रदेश सरकारले शव बाहन खरिदका ६ स्थानीय तहलाई ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ ।
कोभिड–१९ नियन्त्रण तथा उपचार कोषबाट प्रतिपालिका १५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको हो । एम्बुलेन्सका लागि रकम पाउने सूचीमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका छन् ।

बैठकले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद्, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने, पश्चिम नवलपरासीको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्नेसम्बन्धी सम्बन्धित गाउँपालिकाको प्रस्ताव पनि नेपाल सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार