काठमाडौंँ : सरकारले पर्सि असोज १ गतेदेखि नै लामो दूरीको सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान खुला गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले पर्सिदेखि लामो दूरीका सवारी साधन खोल्ने निर्णय गरेको सरकारका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।तर कोरोना महामारीबाट बच्न आवश्यक सजगता अनिवार्य रुपमा अपनाउनु पर्नेछ। मन्त्री ज्ञवालीका अनुसार भौतिक दूरी कायम हुने गरी एक सिटमा एक जना मात्र बस्न पाउनेछन्।
उभिएर आवत जावत गर्न निषेध गरिएको छ भने ढोकामा अनिवार्य स्यानिटाइटर राख्नुपर्नेछ । चालक र सहचालकसहित यात्रुले अनिवार्य रुपमा मास्क र पन्जा लगाउनुपर्ने छ। यातायात व्यवसायीले भाडामा अधिकतम ५० प्रतिशत बढीसम्म भाग लिन पाउनेछन्।यस्तै, सरकारले आन्तरिक हवाई उडान र होटल रेष्टुरेन्ट पनि असोज १ गतेदेखिनै खोल्ने निणय गरेको छ । विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजर अनिवार्य गरिएको छ ।
यस्तै, सरकारले सीमा नाका थप एक महिना बन्द गर्ने निर्णय गरेको छ । यसअघि भोलिसम्म बन्द गर्ने भनिएको सीमा नाका असोज ३० गतेसम्म बन्द गरिएको हो । सरकारले नेपाल भारतबाट नेपाल प्रवेश गर्ने थप नाका खुला गर्ने निर्णय पनि गरेको छ।