काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आफ्नो चार वर्षे कार्यकाल पूरा गर्दै बिदा भएका छन्। मंगलबार प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमबीच उनलाई बिदाइ गरियो। बिदाइका क्रममा लिखित र मौखिक मन्तव्य राख्दै कुलमानले आफूले सुरुबाटै प्राधिकरणको हितको पक्षमा अडान लिँदै आएको बताए।
‘कुलमानले कसैले भनेकै मान्दैन, आफैं खुसी गर्छ भन्ने आरोप पनि लाग्यो। हो, मैले प्राधिकरणको हितका लागि केही कुरामा अडान लिएकै छु। ट्रेड युनियनका साथीहरुले राम्रा कुरा गर्दा मानेकै छु’, उनले भने, ‘जुन कुराले संस्थाको हित गर्दैन भने मैले अडान लिएकै हो। अब त सानो बच्चालाई पनि थाहा भइसक्यो विद्युत् प्राधिकरण के रहेछ भन्ने। कार्यकारी निर्देशकको नियुक्तिमा पनि यति चासो बढ्नु भनेको प्राधिकरणको छवि बढेको रहेछ भन्ने पुष्टि भएको छ।’ कुलमानले आफ्नो नेतृत्वको टिमले शनिबार र बिदाका दिन पनि काम गरेकैले देशलाई लोडसेडिङबाट मुक्त गरेर विद्युतमा आत्मनिर्भरको बाटोमा गएको बताए।
‘शनिबार पनि, बिदाको दिनमा पनि काम गरियो। चार वर्षमा हामीले गरेका प्रयासले प्राधिकरणको गरिमा बढाएको छ। आगामी दिनमा यो गरिमा अझै उच्च हुँदै जाओस्’, उनले भने,’नेतृत्वको निरन्तरता एवम् परिवर्तन स्वभाविक प्रक्रिया हो। यसलाई बुझिदिन सबैलाई आग्रह गर्दछु। टिममा काम गरेकाले नतिजा पनि एकदम राम्रो आएको छ।
आफ्नो जिम्मेवारी हामीले सफलतापूर्वक निर्वाह गरेका छौं।’ उनले लोडसेडिङ हटाउन भारतबाट विद्युत् आयात पनि महत्वपूर्ण भएको बताए। ‘लोडसेडिङ हटाउन आयात पनि महत्वपूर्ण थियो। तर त्यो भन्दा महत्वपूर्ण हामीलाई त्यहाँबाट विद्युत् ल्याउनमै चुनौती थियो’, उनले भने, ‘त्यसमा हामी सफल भयौं। हामीले यो बीचमा ६ प्रतिशत बिजुली बेचेका पनि छौं। अब विस्तारै हामी अर्को वर्षदेखि आत्मनिर्भर हुन्छौं।’
थाहा खबर