दाङ : दाङमा सोमवार एकै दिन ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा ४४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय दाङले जनाएको छ । जसमा बबई गाउँपालिकाका ८ जना, शान्तिनगर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित १७ जना र घोराही उपमहानगरपालिकाका १९ जना रहेका छन् । शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य संयोजक हरि पुनले जानकारी दिए ।
संक्रमित हुुनेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, उनका सवारी चालक र वडा नं. ४,५,६ र ७ का गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । त्यसैगरी गाउँपालिकाका कर्मचारीलाई कोरोना पुष्टि भएपछि गाउँपालिका ४८ घण्टाको लागी सिल गरिएको प्रशासन अधिकृत कृष्ण कुमार कडेलले जानकारी दिए ।
त्यस्तै बबई गाउँपालिकामा २० जनाको स्वाव परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय दाङका फोलक पर्सन कमल चन्दले बताए । गाउँपालिकामा संक्रमति देखिएका मध्य हंसपुर स्वास्थ्य चौकीमा कार्यरत एक जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अर्को सुचना जारी नभए सम्मलाई स्थास्थ्य चौकी सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्लले जानकारी दिए ।
त्यस्तै घोराही उपमहानगरपालिका १० नारायणपुर क्षेत्रबाट संकलन गरिएको ६४ जनाको स्वाव मध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, भने अन्य ४ जना प्रतिष्ठानको फिवर क्लिनिकबाट संकलन गरिएको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो ।योसँगै जिल्ला कोरोना संक्रमितको संख्या ९ सय १९ पुगेको छ । जसमध्य ७ सय ४३ जना संक्रमित निको भएर घर फर्किएका छन् । सोमवार कोरोना पुष्टि हुनेमा अधिकांश समुदाय स्तरबाट संकलन गरिएको र केही क्वारेन्टाइनबाट संकल गरिएको स्वाब रहेको फोकल पर्सन चन्दले बताए । । प्रतिष्ठानको फिवर क्लिनिकबाट संकलन गरिएको स्वाब परिक्षण गर्दा बाहिरी जिल्लाका २ जनामा पनि कोरोना पुष्टि भएको उनले बताए ।