बाँके : बाँकेमा प्रहरीले १० किलो लागुऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने दाङ घोराही उपमहानगरपालिका १९ का २४ बर्षीय वसन्त घर्तीमगर र रुकुम पूर्व उत्तर गंगा गाउँपालिका ८ का ५३ वर्षीय धन बहादुर सेन रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोमवार विहान साढे ६ बजेतिर राप्ती गाउँपालिका १ कुसुम बजारबाट १० किलो अफिम सहित उनीहरुलाई पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । दाङबाट लागु औषध अफिम बाँकेको कुशुम हुदै ल्याउन लागेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले कुसुम बजारमा उनीहरुले चेकजाँच गर्ने क्रममा झोलामा प्लाष्टिकमा १० पोका बनाएर राखेको अवस्थामा लागु औषध अफिम भेटिएको उनले बताए ।
उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको अनुसन्धानबाट खुलेको समेत प्रमुख रानाले बताए । पक्राउ परेका अभियुक्तहरू माथि लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ (छ) को उपदफा (३) बमोजिम कानुनी कारबाही हुनेछ। अभियोग पुष्टि भएमा १५ वर्ष जन्मकैद र ५ लाखदेखि २५ लाखसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।