दाङ : नेपालमा रोजगारी नपाएको भन्दै बर्षेनी लाखौ युवा जनशक्ति विदेशिने गरेका छन् । तर केहि युवा भने स्वदेशमै उदाहरणीय काम गरेर स्वरोजगार बन्ने गरेका छन् । अहिले विश्वब्यापीरुपमा फैलिएको कोरोना भाइरसको महामारीका कारण धेरैले रोजगारी गुमाइरहेका बेला दाङको घोराही उपमहानगरपालिकाका २ युवाको काम भने अरुका लागि सिक्नै पर्ने जस्तो छ ।
हाम्रो समाजमा उच्च शिक्षा हासिँल गरेका धेरै युवाहरु खेतीपातीप्रति खासै चासो राख्दैनन् । बरु उनीहरु बैदेशिक रोजगारीका लागि जोखिम मोलेर बिदेसिने गर्दछन् । तर दाङको घोराही उपमहानरपालिका वडा १० का कुलबहादुर डाँगी र तुलसीराम केसी भने मेवा खेती गरेर मनग्य आम्दानी गर्न लागेका छन् । डाँगी कानून ब्यबसायी र केसी शिक्षण हुन् । उहनीहरु १ जना मिलेर एक बर्षअघि जिल्लामा पहिलो पटक नयाँ प्रजातिको रेडलेडी जातको ताइवानी मेवा खेती सुरु गरेका थिए ।
यो प्रजातिको मेवाको बिरुवा ताइवानबाट भारत हुदै नेपालमा ल्याउनुपर्छ । आफुहरुले साढे २ बिगाह जमिन भाडामा लिएर सुरु गरेको मेवा खेतीले अहिले राम्रै फैलिरहेको उनीहरुले बताए । २ जनाको करिब २५ लाख रुपैयाँ लगानीबाट शुरु गरेको मेवा खेतीका लागि उनीहरुले अहिलेसम्म सरकारी तथा गैह्रसरकारी कुनै पनि निकायबाट अनुदान पाउनुभएको छैन । अनुदान नपाए पनि उनीहरुको कुनै गुनासो छैन । तर राज्यले कृषि क्षेत्रका लागि छुट्टाएको ठुलो रकम बास्तविक किसानहरुले नपाएकोमा भने डाँगीले चिन्ता ब्यक्त गरे । सुरुमा ३५ सय बोट रोपे पनि अहिले करिब ३ हजार मेवाका बोटहरु बारीभरी छन् ।
त्यसमध्ये करिब ९० प्रतिशत बोटमा फल लागेको अर्का ब्यवसायी केसीले बताए । उनका अनुसार अहिले १ स्थायी र अन्य ४ जनाले दैनिक ज्यालामा रोजगारी पाएका छन् । तर अहिले कोरोना महामारीका कारण सरकारले जारी गरेको लकडाउन र निषेधाज्ञाले मेवा विक्रि वितरणमा समस्या भएको केसीले बताए । । मेवा खेतीका नेपाल प्रतिनिधी मानसकुमार मण्डलले मेवा खेतीका लागि दाङमा हावापानी अनुकुल रहेको भनेपछि आफुहरुले मेवा खेती गर्ने सोच बनाएको केसी बताए ।
सुरु– सुरुमा उनीहरुले गरेका मेवा खेतीतर्फ स्थानीयले राम्रो मानेका थिएनन् । तर अहिले राम्रो प्रतिफल आउन थालेपछि सबैले प्रशंसा गर्ने गरेको केसीको भनाई छ । उनहरुका अनुसार यो प्रजातिको मेवाको एक बोटले कम्तिमा ५० देखि १ सय किलोसम्म फल दिन्छ । एउटै बोटले ४ बर्षसम्म फल दिने र एउटा मेवाको तौल सवा २ देखि ३ केजिसम्म हुने गर्दछ । जिल्लाबाहिर १२० रुपैयाँसम्म बिक्रि हुने गरेको भएपनि जिल्ला भित्र भने प्रति किलो ५० रुपैयाँमा बिक्रि गर्दै आएका छन् ।