दाङ : विभिन्न संघसंस्थाले दाङको शान्तिनगर गाउँपालिकालाई दिएको राहतको चामल गोदाममै कुहिएको छ । गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका करिब ४२ बोरा चामल मध्य अधिकांस बोरामा रहेको चामलमा ढुसि लागेका छ भने ८ बोरा चामल पूर्ण रुपमा कुहिएको छ । कुहिएको १५ किलो दाल भने गौशालामा लगेर बस्तुभाउलाई खुवाइएको छ । अहिले पनि ६ बोरा आयोडिन नुन गोदाममा थन्किएको छ ।
लकडाउनको समयमा विपन्न वर्ग तथा कामगरिखाने मजदुर भोकै मर्ननपरोस भन्ने उद्देश्यले विभिन्न संघसंथाले झण्डै ५२ कूईन्टल चामल सहित दाल, नुन, तेल गाउँपालिकालाई दिएको स्टोर शाखा प्रमुख नन्दराम केसीले जानकारी दिए ।
यता गोदामा चामलमा ढुसि लाग्ने गरि थन्किएपनि कतिपय विपन्न वर्गले भने राहत नपाएको गुनासो गरेका छन् ।
‘आफुलाई साँझ बिहान के पकाउँ र खाउँ भन्ने छ ,’ शान्तिनगर गाउँपालिका–३ पश्चिम गनारी निबासी वीर बहादुर विकले भने–‘ उता गाउँपालिकामा चामल कुहिएको सुन्दा यीनी सबै गरिब मारा हुन् भन्ने लागेको छ ।’ पटक पटक ३ नम्बर वडा हुँदै गाउँपालिकामा जाँदा समेत राहत छैन भन्दै फर्काउने गरेको विकले गुनासो गरे ।
https://www.youtube.com/watch?v=yWNfIY8sojo
यस्तै पिडा छ शान्तिनगर गाउँपालिका–४ चिराघाट निबासी बालाराम पौडेललको । ‘घरमा खाने अन्न भएर पनि, छैन भन्दै थैलो लगेर कोही माग्न जान्छ ,’ पौडेलले भने–‘ तर हामीलाई घरमा टन्न अन्न राखेर माग्न आए जस्तो गरेर एक गेडा पनि चामल छैन भनेर फर्कायो । अहिले कहाँबाट आयो कुहिने चामल ?’
यता शान्तिनगर गाउँपालिकाले गोदाममा राखेको चामल अलिअलि ढुसि लागेपनि बाहिर हल्ला भएजस्तो नकुहिएको बताएको छ । कुहिएको १५ किलो दाल गौशालामा गाईलाई खुवाउन पठाएको भन्दै गाउँपालिका अध्यक्ष कमान सिङ डाँगीले अहिले पनि घरमा खाने छैन भनेर आउने मान्छेलाई दिने गरेको बताए ।
जिल्ला बाहिरबाट आएर १४ दिन क्वारेन्टाईनमा बसेर घर जाँदा खाने अन्न नहुने भएकाले उनिहरुलाई दिन चामल राखेपनि लिन नआएपछि गोदाममा मौजदात रहेको अध्यक्ष डाँगीले बताए ।
‘१४ दिन क्वारेन्टाइनमा बसेर पिसिआर रिपोर्ट नेगेटिभ आएको प्रमाण लिएर आएमा दिने भनेका थियौं,’ अध्यक्ष डाँगीले भने–‘ तर कोही पनि आएनन् ।’ अहिले खाद्यन्न लिन आउनेलाई दिन थालिएको छ ।