समुदायमा छताछुल्ल कोरोना, सातामा समुदायका ४२ जनामा संक्रमण

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २३ गते मङ्गलवार

तुलसीपुर : भदौ १४ गते तुलसीपुरकी एकजना महिलामा कोरोना भाइरसको संक्रमण देखियो । घरमै बसिरहेकी र कसैको जनसम्पर्कमा नआएकी उनीलाई कोरोना संक्रमण पुष्टि भएपछि समुदायमा कोरोना छिरेको प्रष्ट बनायो ।

ज्वरो आएको आधारमा पिसीआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो । यस्तै भदौ २० गते शनिबार नौ महिने बालकसहित एकै घरका तीनजनामा कोरोना संक्रमण पुष्टि भयो । अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य सदस्यहरूमा पिसीआर परिक्षण गर्दा ९ महिने बालकसहित तीनजनामा संक्रमण देखिएको हो ।

यसअघि राप्ती प्रादेशिक अस्पतालका स्वास्थ्यकर्मीसहित नौजनामा कोरोना संक्रमण देखियो । सेवाग्राहीको प्रत्यक्ष सम्पर्कमा रहेका स्वास्थ्यकर्मी, स्टाफ नर्स र कार्यालय सहयोगीहरूको पिसीआर परिक्षण गर्दा उनीहरूमा कोरोना संक्रमण पुष्टि भयो ।

योसँगै एकसाताको अवधिमा जिल्लामा विभिन्न क्षेत्रका समुदायका ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भईसकेको छ । बैंकमा कार्यरतदेखि गृहणीसम्ममा कोरोना देखिएपछि दाङमा समुदायस्तरमा कोरोना छरपष्ट भएको प्रष्ट छ ।

घरभित्रै बसेका व्यक्तिहरूमा कोरोना देखिनु, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी एवं कर्मचारीहरूमा कोरोना संक्रमण देखिनु, बैंकका कार्यरत कर्मचारीमा कोरोना देखिनुले समुदायस्तरमा कोरोना फैलिसकेको पुष्टि भइसकेको तुलसीपुर उपमहानगरपालिका कोभिड–१९ का फोकलपर्सन विमल केसी बताउँछन् । यो समाचार प्रदेश टुडे पत्रिकाका उमा भण्डारी लेखेकी छन् ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार