पुरन्धारा झरणा जाने बाटोमा पर्ने ट्वाङखोलामा पुल नहुदाँ सबैलाई सास्ती

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र २१ गते आइतवार

प्रेम केसी

हापुरे : दाङको बबई गाउँपालिका वडा नं. ५ मा पर्ने  ट्वाङखोलामा पुल नहुदाँ त्यहाँका नागरिकहरुले बर्षायाम सास्ती भोग्नु परेको छ । उक्त खोलामा पुल नहुदाँ हरेक बर्षको बर्षायामा वडा नं. ५ का जलुके, बबरपुर जौबरी नागरिक मात्र नभइ गाउँपालिका कै विकट क्षेत्र वडा नं. १ गंगटेका नागरिकहरुले सास्ती भोग्दै आएका छन् । खोलामा पुल नहुदाँ ठुला पानी परेको बेला ठुला तथा साना सवारीका साधनहरु किनार मै थन्काउनु पर्ने अवस्था आउने स्थानियहरुको भनाई छ ।

त्यसैगरी घन्टौ सम्म खोला किनारमा बसेर खोलामा आएको बाढि कम आए सवारी साधन चलाएर जानु पर्ने स्थानिय गणेश केसीले बताए । उनले यो खोलामा पुल नहुदाँ आफुहरु धेरै दुख पाउँने गरेको समेत बताए । स्थानिय सरकारले वर्षायाम बाहेक अरु समयमा खोलामा ह्युमपाइप राखेर मिनि पुल बनाएर केही राहत हुने भएता पनि बर्षायामा खोलामा आउने बाढिले त्यो बगाएर लैजाने भएकाले बर्षायाम दुख पाउँने गरेको उनको भनाई छ ।

त्यसैगरी अर्का स्थानिय निर्मल भण्डारीले खोलामा पुल नहुदाँ गाउँमा कोही बिरामी पर्दा एम्बुलेन्स समेत जाने अबस्था नभएको उनले बताए । ‘ खोलामा पुल छैन्,यदि गाउँमा कुनै विरामी भए एम्बुलेन्स बोलाएर उपचार गर्न लैजाउ भने पनि खोला आए रोक्छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनु पर्छ ,’ उनले भने ।

यहि बाटो भएर पश्चिम कै चर्चित पर्यटकीय क्षेत्र पुरन्धाराको छहरा गरिन्छ । तर अहिले कोही घुम्न आए पनि खोलामा पुल नहुदाँ धेरै सास्ती भोग्ने गरेको अर्का स्थानिय याम केसीले बताए । उक्त झरणा सर्बसाधरण मात्र नभई मुख्यमन्त्री देखि अन्य नेताहरु समेत पुगेका छन् । तर यस खोलामा पुल बनाउनु पर्छ भनेर कसैको ध्यान नगएको समेत उनले बताए । हामी अब बन्छ की भन्दै आसै आसमा बसौँ तर अहिले सम्म पुल बनेन् । यदि यो खोलामा पुल भए धेरै स्थानिय नागरिक मात्र नभई झरणा सम्म घुम्न आउने पर्यटकहरुलाई समेत सहज हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार