घोराहीमा रहेको चेपे ताल पर्यटकीय केन्द्र बन्दै (भिडियो सहित)

Author Logo..
अनलाइन राप्ती २०७७ भाद्र १७ गते बुधवार

दाङ : दाङको घोराही उपमहानगरपालिकाले सिंचाईको लागि उपमहानगरमा २ दर्जन कृत्रिम तालहरु निर्माण गरेको छ । ति तालमा जम्मा भएको पानीले स्थानियहरुलाई सिंचाईको लागी सहज भएको छ, भने कतै माछा पालन पनि गरिएको छ । त्यसैगरी घोराही १ र २ मा प्रदेश ५ सरकार र उपमहानगरको लगानीमा निर्माण भएको चेपे ताल सिंचाई, माछा पालनको लागी मात्र नभइ आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । २ वर्ष पहिले स्थानियले सिंचाईको लागी चेपे सोतामा ड्याम बाँधेर ताल बनाएका थिए ।

पछि प्रदेश सरकार र घोराही उपमहानगरपालिकाको सहकार्यमा निर्माण सुरु गरिएको चेपे तालमा अहिले सम्म २ करोड भन्दा बढि खर्च भएको उपमहानगरले जनाएको छ । हिजो आज तालमा आन्तरिक पर्यटकहरु रमाउन आउने गर्दछन् । घोराही १५ का विमल केसीले तालमा आउदाँ निकै खुशी लागेको बताए । घोराही जिल्ला मै यति ठुलो तालमा यसरी डुंगामा सयर गर्न पाउँदा धेरै आनन्द आउने गरेको उनले बताए । तर उनले तालको वरपर पुरै खुल्ला रहेकाले तारबारको ब्यवस्था र सफा राख्नु पर्ने बताए ।

उनले तालको वरपर खुल्लै रहदाँ दुर्घटना हुने जोखिम बढि रहेको समेत बताए । ‘ आन्तरिक पर्यटकको लागी धेरै राम्रो छ, तर पोखरीको वरिपरी तारबार हुन्दाँ मानिसहरु सबै ठाउँबाट पस्ने भएकाले यसको ब्यवस्थापन गर्नु पर्छ ,’ उनले भने । त्यसैगरी घोराही १५ का समिर भण्डारीले ताल पर्यटकीय केन्द्रका रुपमा जाने भन्दै डुंगाहरु थप्नु पर्ने र सरसफाईमा ध्यान दिए राम्रो हुने बताए । त्यसैगरी उनले अहिले ५ वटा डुंगा भएकाले यहाँ आउने ब्यक्तिहरु पालो कुर्नु पर्ने अवस्था रहेकोले अलि धेरै डुंगा र लाइफ ज्याकेटहरु थप्नु पर्ने बताए । सुन्दर तथा रमणीय ठाउँ भएकाले यहाँ मानिसहरु विदाको समयमा घुम्न आउने केन्द्र बन्ने उनको भनाई थियो ।

यो ताल ८ विगाहा क्षेत्रफलमा फैलिएको छ । यो ताल अहिले बोटिङ गर्नेहरुको स्थल मात्रै बनेको छैन, यहाँ २३ हजार भन्दा बढि माछाका भुरा हालिएको छ, भने यसै तालबाट बगेको पानीले खेतियोग्य जमिन सिचित हुने ताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष एवं घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडाध्यक्ष राममणी पाण्डेले बताए । ‘  यस तालको पानी स्थानिय कृषकको खेतबारी सम्म पु¥याउँनको लागी बृहत्त सिंचाई योजना दाङसंग सहकार्य गरेर लिफ्ट मार्फत पु¥याउने योजना अगाडी बढेको समेत वडाध्यक्ष पाण्डेले बताए ।

यसबाट करिब २ सय हेक्टर जमिनका सिंचाई सुविधा हुने समेत उनले बताए । यो ताल पर्यटकीय गन्तब्यको रुपमा चिनिने समेत उनको भनाई छ । ‘ यो ताल संगै माथि अरु २ वटा प्राकृतिक चरिगे दह, भोट दह र त्यहाँ मन्दिर भएकाले त्यहाँ पनि मानिसहरु घुम्न आउने भएकाले यसको भविष्य राम्रो छ,’ उनले भने ।’ यो ताललाई आम्दानीको स्रोत बनाउने, कृषिमा व्यवसायीककरण गराउने, माछा पालन गर्ने र डुंगामा सयर गराई मनोरन्जन सँगै आन्दानीमा केन्द्रित गराउने गरी स्थानियहरुलाई नै सञ्चालनको जिम्मेवारी दिईएको उपमहानगरपालीकाले जनाएको छ । ४ लाख २५ हजार घनमिटर पानी र १५ मिटर गहिराई रहेकोे छ ।

यो तालको निर्माण भएपछि यहाँ विदाको दिनमा एक सय भन्दा बढि र अन्य दिन ४०÷५० जना दैनिक रुपमा आन्तरिक पर्यटकहरु आउने गरेको डुंगा संचालक समितिका संयोजक बिपदराम चौधरीले बताए । उक्त तालमा डुंगामा चढेको प्रतिब्यक्ति एक सय रुपैयाँ टिकटको ब्यवस्था गरिएको समेत उनले बताए । त्यसबाट भएको आम्दानीको २० प्रतिशत संचालक समिती लिने र ८० प्रतिशत डुंगा संचालन गर्नेहरुलाई दिइने ब्यवस्था गरिएको समेत संयोजक चौधरीले बताए ।

संचालक समितीमा आएको २० प्रतिशतले ताल ब्यवस्थापनमा र कोरोनाको जोखिमबाट बच्नको लागी स्वास्थ्य सामाग्रीहरु खरिद गर्ने जस्ता कार्यमा खर्च हुने समेत उनले बताए । अहिले तालमा स्थानिय तथा यस तालका कारण जग्गा डुवान भइ पिडित भएका ब्यक्तिहरुलाई प्राथामिकता दिएर डुंगा संचालन गर्दै आएको उनले बताए । एक जनालाई एक लाखको सेयर दिएर संचालन गर्दै आएको समेत उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
संबन्धित समाचार