दाङ : दाङमा शनिवार सम्म ७६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार मात्र तुलसीपुर र घोराहीमा गरी थप १९ जना नयाँ संक्रमीत थपीएका छन् । तुलसीपुरमा २ जना चिकित्सक, २ जना नर्सिङ, २ जना पारामेडिक्स र ३ जना अफिस सहयोगी कर्मचारीमा कोरोना पुष्टि भएको थियो । त्यसैगरी घोराहीमा १० जना नयाँ संक्रमीत थपीएका थिए । ति मध्य ३ जना लक्ष्मी वैंकमा कार्यरत कर्मचारी, १ जना नेपाल बैंकमा कार्यरत कर्मचारी, ३ जना व्यापारी, २ जना भारत तथा तेस्रो मुलुकबाट आए र २ जना सर्वसाधार ब्यक्तिहरु रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।
उनीहरु सवैको अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालयका कोभिड १९ फोकल पर्सन कलम चन्दले जानकारी दिए । हाल सम्म जिल्लामा संक्रमीत मध्य ६९७ जना निको भएर डिस्चार्ज भएको उनले बताए । बाँकी संक्रिय संक्रमितहरुको कोरोना विशेष अस्पताल र विभिन्न आइसोलेसन सेन्टरमा भर्ना भएका छन् । संक्रिय संक्रमित मध्य बबई गाउँपालिकाका ३ जना, शान्तिनगरका १२ जना, तुलसीपुरका १७ जना, घोराहीका १८ जना, लमहीका ३ जना, राप्तीका ६ जना र राजपुर गाउँपालिकाका १ जना रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाका १० पालिका मध्य दंगीशरण, बंगलाचुली र गढवामा कोरोना संक्रमितको संख्या शुन्य रहेको कार्यालयले जनाएको छ । त्यसैगरी जिल्लामा आज राती १२ बजेदेखि २१ गते राती १२ बजे सम्म निषेद्याज्ञा जारी गरिएको छ । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिदै गए पछि दाङमा एक साता पूर्णरुपमा निषेधाज्ञा गरिने भएको हो । कोरोना संकट व्यवस्थापन समितिको शुक्रवार जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकल यस्तो निर्णय गरेको थियो ।
निषेधाज्ञाको अबस्थामा सार्वजनिक सवारीका साधन, पास विनाका गाडी, अत्याबश्यक सेवा तथा बस्तु उत्पादन र वितरण गर्ने उद्योग एवं व्यवसाय बाहेक अन्य उद्योग कलकारखाना र व्यापार सबै बन्द हुने भएका छन् । त्यसैगरी होटल, रेष्टुरेन्ट, खाजाघर पनि बन्द हुने भएका छन । बैठकले सरकारी राजश्व संकलन लगाएतका कारोबार गर्ने गरि अनुमती प्राप्त भए बाहेकका बैंक तथा बित्तिय संस्थाहरु सञ्चालन गर्नु पर्ने भए सञ्चालन गर्नुपर्ने समय अबधी तोकी स्वास्थ्य मापदण्ड पालना गरि सञ्चालन गर्न सकिने निर्णय समेत गरेको छ ।
यस विचमा कोरोना संक्रमण फैलन नदिनका लागि स्वास्थ्य कार्यालय दाङ र सबै पालिकाहरुले सम्भावित जोखिम, संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर जाँचको दायरालाई बढाउने निर्णय समेत भएको छ । एक साताको निषेद्याज्ञाको अबस्था हेरी जिल्ला प्रशासन कार्यालय दाङले थप एक साता निषेधाज्ञाको समय लम्ब्याउन सक्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए ।