तुलसीपुर : दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा २ जना डाक्टर सहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सहित ५० मिटर वरपर सिल गरिएको छ । अर्को सूचना जारी नहुन्जेल सम्मका लागि सिल गरिएको हो । अस्पतालमा कार्यरत २ जना डाक्टर, २ जना नर्स, २ जना स्वास्थ्यकर्मी र ३ जना कार्यालय सहयोगीमा कोरोना पोजेटिभ देखिएको उपमहानगरका कोभिड–१९ फोकल पर्सन बिमल केसीले जानकारी दिए ।
अस्पतालबाट विहीवार ५० जनाको स्वाब संकलन गरि पीसीआर परिक्षणको लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । ठूलो संख्यामा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पताललाई नै सिल गरेर कन्ट्रयाक टे«सिङ गर्ने तयारी गरेको अस्पतालका निमित्त प्रमुख डाक्टर पदमराज अधिकारीले जानकारी दिए । हाल अस्पतालमा रहेका विरामी सबैको आइतवार स्वाब संकलन गर्ने र कोरोना रिपोर्ट नेगेटिभ आएका चिकित्सकहरुबाट सेवा दिने अस्पतालले जनाएको छ ।