दाङ : दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले कोरोना संक्रमण रोकथामका लागि लकडाउन गर्ने कि नगर्ने विषयमा शनिबारको बैठकले मात्रै टुंगो लाग्ने बताए । जिल्लामा समुदाय स्तरमा कोरोना देखिएपछि जिल्लामा लकडाउन गर्ने चौतर्फी दवाव सिर्जना भएको छ ।
सोही अनुसार शनिबार कोभिड–१९ शंकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठक बसेपछि आधिकारिक निर्णय हुने बताए । ‘शनिबार १० वटै पालिकाका प्रमुखहरुसंग बैठक बस्छौँ, त्यसपछि के निर्णय हुन्छ, त्यही अनुसार निर्णय गर्छौं’, उनले भने ‘संक्रमितको संख्या हेरेर जति बेला पनि लकडाउन गर्न सकिने भएकाले पनि बैठकले के निर्णय गर्छ, त्यही हुन्छ ।’
बिहीबार पनि केही स्थानीय तहको नतिजा आउन लागेको भन्दै आज आउने नतिजाले पनि लकडाउन गर्ने की नगर्ने भन्ने बिषयको निक्र्योल गर्ने उनले बताए । यदि आज संक्रमितको संख्या ह्वात्तै बढेमा शुक्रबार नै बैठक बसेर पनि लकडाउन गर्ने वा नगर्ने भन्ने बिषयमा निर्णय लिन सकिने बताए ।
प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार बिहीबार तुलसीपुर उपमहानगर र राप्ती गाउँपालिकाले बैठक बसेको बताए । साथै उनले शनिबार १० वटै पालिका संग शनिबार छलफल गरेर निर्णय लिने बताए । उनले समुदाय स्तरमा कोरोना संक्रमित देखिए पनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताए ।